‘सिटामोल’ फ्लप भएपछि निर्देशक सानेले थाले ‘लज्जावती’को सुटिङ, मुकुन र मेनुका मुख्य भूमिकामा

काठमाडौं : ‘सिटामोल’ फ्लप भएपछि निर्देशक राजबहादुर सानेले आफ्नो नयाँ फिल्म ‘लज्जावती’ को छायांकन शुरू गरेका छन्।
बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा सोमबार पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो। फिल्मको पहिलो दृश्य पशुपति आर्यघाटबाट खिचिएको छ।
फिल्ममा अभिनेता मुकुन भुषाल, मेनुका माझी, श्रीकृष्ण निरौला र जानुका विश्वकर्माको मुख्य भूमिका रहनेछ। निर्देशक सानेले आफ्नो अघिल्लो फिल्म ‘सिटामोल’ बाट कलाकारद्वय श्रीकृष्ण र जानुकालाई यस फिल्ममा पनि निरन्तरता दिएका छन्।
यसैगरी, फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतको पनि अभिनय रहनेछ।
आहा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। यसमा कमलप्रसाद शर्मा र सन्दीप रोकायाको लगानी, दीपक भण्डारीको कार्यकारी निर्माण र भीमराज रोकायाको सह–निर्माण रहेको छ। दिव्यराज सुवेदीले छायांकन गर्ने फिल्ममा विशाल बराल मुख्य सहायक निर्देशकको रूपमा छन्।
निर्देशक तथा लेखक सानेका अनुसार, काठमाडौं आसपासका क्षेत्रमा छायांकन गरिने फिल्मको सेड्युल एक महिनाको तय गरिएको छ।
उनको पछिल्लो फिल्म ‘सिटामोल’ गत साउन २३ गते प्रदर्शन भएको थियो। फिल्मले जम्मा ५० लाखको मात्र व्यापार गरेको थियो।
अभिनेता पल शाहको फिल्म ‘मोहर’ सँग एकैदिन प्रदर्शनमा आएको ‘सिटामोल’ ले कथावस्तु राम्रो भए पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको थिएन।
असोज ६, २०८२ सोमबार १३:२८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।