दशैंको मुखमा ६ राजमार्ग पूर्ण अवरुद्ध, अरनिको राजमार्ग आज साँझसम्म खुल्ने अपेक्षा

काठमाडौं : दशैंमा घर फर्किने यात्रुको चाप बढेका बेला देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६९ सडकखण्ड एकतर्फी सञ्चालनमा छन्।
सडक विभागका अनुसार, विभिन्न स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध भएको हो, जसले गर्दा यात्रा कष्टकर बनेको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध अरनिको राजमार्ग (काठमाडौँ-कोदारी) आज साँझसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए।
‘दशैंमा सहज र सुरक्षित यात्राका लागि सडक सुधारका कार्य धमाधम भइरहेको छ’, उनले भने। उनका अनुसार, पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग आइतबार साँझ खुले पनि सडक सफा गर्नका लागि आज दिउँसो दुई घण्टा बन्द गरिनेछ।
विभागका अनुसार पूर्ण रूपमा अवरुद्ध अन्य प्रमुख राजमार्गहरूमा निम्न रहेका छन्।
रसुवागढी सडकखण्ड: (गल्छी-त्रिशूली-रसुवागढी) - चीनतर्फबाट गत साउनमा आएको बाढीले सडक कटान गरेकाले अवरुद्ध।
कोशी राजमार्ग: (रानी-विराटनगर-किमाथाङ्का) - वरुण नदीमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि अवरुद्ध।
तमोर करिडोर: (चतरा-गणेशचोक) - तमोर नदीको रानीपुल बेलीब्रिज बाढीले बगाएपछि अवरुद्ध।
ठोरी-भण्डारा-मलेखु सडकखण्ड: बाढी र पहिरोका कारण अवरुद्ध।
विभागले अवरुद्ध सडकहरू खुलाउन स्काभेटर तथा लोडरजस्ता उपकरणहरू परिचालन गरिएको जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वमा यात्रुको चाप बढेकाले सडक मर्मतको कामलाई तीव्रता दिएर सहज यात्राको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।
यसैबीच, सडक विभागले दशैंलाई लक्षित गरी देशभरका राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकता दिएको जनाएको छ।
सूचना अधिकृत अमितकुमार शर्माका अनुसार, देशभर करिब चार लाख स्क्वायर मिटर खाल्डाखुल्डी पुर्नुपर्नेछ र यातायातको बढी चाप हुने सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।
असोज ६, २०८२ सोमबार १३:१६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।