मंगल धुन र बढाइँका साथ हनुमानढोकाको दशैंघरमा घटस्थापना (तस्बिरहरू)

काठमाडौं : बडादशैंको आगमनसँगै काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार परिसरस्थित दशैंघरमा विशेष रौनक छाएको छ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि आश्विन शुक्ल प्रतिपदाको दिन, शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दुर्गा पूजाको विधिवत् शुभारम्भ भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको बिहान ९:१३ बजेको उत्तम साइतमा दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी जौ (यव) रोपेर जमरा राखिएको हो। यो कार्यलाई जमरा राख्ने भनिन्छ, जुन दशैंको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक विधिमध्ये एक हो।
यस अवसरमा नेपाली सेनाको टुकडीले मंगल धुन बजाएर वातावरणलाई भक्तिमय बनाएको थियो भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो, जसले दशैंको औपचारिक सुरुवात भएको संकेत गर्दछ।
घटस्थापनाको दिन विधिपूर्वक रोपिएको यही जमरालाई दुर्गाको प्रसादका रूपमा विजयादशमीको दिन टीकासँगै शिरमा लगाइन्छ। समृद्धिको प्रतीक मानिने जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गर्ने चलन छ।
आज स्थापना गरिएको जमरा र दुर्गा देवीको पूजाआराधना महानवमीसम्म विधिपूर्वक चल्नेछ। महानवमीका दिन हनुमानढोकाको कोतमा बलिसमेत दिने परम्परा छ।
असोज ६, २०८२ सोमबार ११:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।