भारतीयले फेरि पाकिस्तानी खेलाडीसँग हात मिलाएनन्, फरहानले गरेका थिए ‘गन सेलिब्रेसन’

भारतीयले फेरि पाकिस्तानी खेलाडीसँग हात मिलाएनन्, फरहानले गरेका थिए ‘गन सेलिब्रेसन’

एजेन्सी : भारत र पाकिस्तानबीच भएको सुपर-४ को खेलपछि पनि भारतीय टोलीले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन्।

यसअघि टसको समयमा पनि भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी कप्तान सलमान आघासँग हात मिलाएका थिएनन्।

खेल सकिएपछि तिलक वर्माले शाहिन अफ्रिदीको बलमा चौका प्रहार गर्दै भारतलाई ६ विकेटको जित दिलाए। जितपछि तिलक र हार्दिक पाण्ड्याले दुवै अम्पायरसँग हात मिलाएर सिधै ड्रेसिङ रुमतर्फ लागे।

यसअघि समूह चरणको खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदा पनि सूर्यकुमार यादव र शिवम दुबेले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाई ड्रेसिङ रुम फर्किएका थिए।

सुपर-४ को खेलमा पनि भारतीय खेलाडीहरूले आफ्नो त्यही नीतिलाई निरन्तरता दिँदै पाकिस्तानी खेलाडीहरूलाई पूर्ण रूपमा बेवास्ता गरे।

त्यसअघि खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले १७१ रन बनाएको थियो, जसमा ब्याट्सम्यान साहिबजादा फरहानले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलेका थिए।

५० रन पूरा गरेपछि फरहानले ब्याटलाई बन्दुकजस्तै बनाएर आफ्नो अर्धशतकको खुसी मनाएका थिए। उनको यो सेलिब्रेशनलाई केही पाकिस्तानी समर्थकले ‘अपरेसन सिन्दूर’सँग पनि जोडेका थिए।

भारतीय कप्तान सूर्यकुमार यादवले समूह चरणको खेलपछि ‘ह्यान्डशेक’ नगर्नु कुनै व्यक्तिगत नभई टोलीको निर्णय भएको बताएका थिए।

सुपर-४ चरणको पहिलो खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै १७१ रन बनाएको थियो। यो स्कोर रक्षा गर्न सकिने भए पनि अभिषेक शर्मा र शुभमन गिलको विस्फोटक ब्याटिङले खेल भारतको पक्षमा पार्यो।

भारतीय टोलीले मात्र ९ ओभरमा १०० रनको आँकडा पार गरेको थियो। खेलमा अभिषेक शर्माले ७४ रन र शुभमन गिलले ४७ रनको शानदार पारी खेले।

असोज ६, २०८२ सोमबार १०:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।