घटस्थापनासँगै काठमाडौं छाड्नेको लर्को, एकैदिन ४३ हजार बाहिरिए

काठमाडौं : बडादशैंको पहिलो दिन घटस्थापनासँगै काठमाडौं उपत्यकाबाट बाहिरिने मानिसहरूको संख्या ह्वात्तै बढेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, पछिल्लो २४ घण्टामा मात्रै ४३ हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन्।
कार्यालयका अनुसार, आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको अवधिमा ४३ हजार यात्रु बाहिरिएका हुन्। सोही अवधिमा २८ हजार यात्रु उपत्यका भित्रिएका छन्।
आज घटस्थापनादेखि उपत्यका छाड्नेको संख्या अझ बढ्ने अनुमान गरिएको छ।
अधिकांश शैक्षिक संस्था तथा निजी कार्यालयहरूमा दशैं बिदा शुरू भइसकेकाले गाउँ फर्किनेको चाप बढ्ने ट्राफिक प्रहरीको अनुमान छ। सरकारी कार्यालयहरूमा भने फूलपातीको दिनदेखि औपचारिक बिदा शुरू हुनेछ।
ट्राफिक प्रहरीका अनुसार हालसम्म बसपार्क तथा उपत्यकाका नाकाहरूमा अवस्था सामान्य छ।
तर, केही दिनअघि नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोका कारण करिब ४० घण्टा सडक अवरुद्ध हुँदा त्यसको चाप अझै पनि सडकमा देखिएको छ।
उक्त सडकखण्ड खुलिसकेकाले अब अवस्था क्रमशः सामान्य हुँदै जाने विश्वास ट्राफिक प्रहरीले लिएको छ।
असोज ६, २०८२ सोमबार १०:१०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।