बैकुण्ठेको टोलैपिच्छे कृषि सङ्कलन केन्द्र

बैकुण्ठेको टोलैपिच्छे कृषि सङ्कलन केन्द्र

भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिका-६, बैकुण्ठेका टोल-टोलमा स्थानीय कृषि उपज सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले ‘कृषि उपज सङ्कलन केन्द्र’ निर्माण थालिएको छ।

वडाले स्थानीय तथा रैथाने उत्पादनलाई सोझै बजारसम्म पुर्याउने लक्ष्यका साथ यो अभियान अघि बढाएको हो।

वडाध्यक्ष एकराज आचार्यका अनुसार, ‘बैकुण्ठेको कृषि उत्पादन, काठमाडौंको भान्सामा’ भन्ने नाराका साथ ‘एक टोल, एक भवन’ को अवधारणा अघि सारिएको हो।

‘गाउँ-गाउँमा उत्पादन भएका कृषि उपजलाई यी केन्द्रहरूमा जम्मा गरेर बजारसम्म पुर्याउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘यी भवनहरू कृषि उपज सङ्कलनका लागि मात्र नभई स्थानीयवासीले आवश्यक छलफल, बैठक र अन्य सामाजिक कार्यक्रम गर्न सक्ने बहुउद्देश्यीय सामुदायिक केन्द्रका रूपमा पनि विकास गरिनेछन्।’

नवनिर्मित भवनहरूले गाउँघरमा हुने भेला र बैठक सञ्चालनमा ठूलो सहजता ल्याएको स्थानीय रामकुमार राईले बताए।

‘पहिले भवन नहुँदा हामीले सडकमै बसेर बैठक गर्नुपर्ने बाध्यता थियो। घामपानीमा निकै समस्या हुन्थ्यो,’ उनले भने, ‘अब भवन बनेपछि सामाजिक काम गर्न र उत्पादन भएका कृषि उपजलाई सङ्कलन गरी बिक्री-वितरण गर्न पनि सजिलो भएको छ।’

यी भवनहरू गाउँघर क्लिनिक, आमा समूह, महिला समूह र बाल समूहका बैठक सञ्चालनका लागि समेत उपयोगी बनेको वडा सदस्य जानुका सुयलले जानकारी दिइन्। उनका अनुसार, वडाका नौवटा टोलमध्ये हालसम्म चारवटामा भवन निर्माण भइसकेको छ र बाँकी टोलमा पनि क्रमशः निर्माण गर्ने योजना छ।

वडाले थालेको यो काम उदाहरणीय रहेको भन्दै अर्का स्थानीय राजिन राईले भवन निर्माणले स्थानीयस्तरका समस्याबारे छलफल गर्न र भविष्यका योजना बनाउन एकजुट हुन सहज बनाएको बताए।

असोज ६, २०८२ सोमबार ०९:२३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।