दशैंमा घर फर्किनेलाई सहज, आजदेखि २२ असोजसम्म सार्वजनिक गाडीमा ‘रुट परमिट’ खुला

दशैंमा घर फर्किनेलाई सहज, आजदेखि २२ असोजसम्म सार्वजनिक गाडीमा ‘रुट परमिट’ खुला

काठमाडौं : हिन्दुहरूको महान् चाड बडादशैंमा घर फर्किने यात्रुहरूको यात्रा सहज बनाउन आजदेखि देशभरका यात्रुवाहक सार्वजनिक सवारी साधनमा ‘रुट परमिट’ खुला गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार, यो व्यवस्था लागू भएसँगै अब सार्वजनिक सवारीसाधनले रुट इजाजत नभएका स्थानमा पनि सिधै यात्रु ओसारपसार गर्न पाउनेछन्।

यद्यपि, सडकको अवस्था र भौगोलिक बनावटका कारण चलाउन निषेध गरिएका ठूला वा विशेष प्रकृतिका गाडीहरूमा भने यो नियम लागू हुने छैन।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले खुला रुट परमिटको व्यवस्था आगामी असोज २२ गतेसम्म कायम रहने जानकारी दिए। उनले यात्राका क्रममा सबै यात्रुलाई अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न पनि अनुरोध गरे।

यसैबीच, दशैंमा हुने सवारी चापलाई मध्यनजर गर्दै सरकारले आजदेखि पूर्णिमासम्म नारायणगढ-काठमाडौं सडकखण्डमा अत्यावश्यक वस्तु बोकेका बाहेक अन्य ट्रेलर तथा ठूला ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ।

असोज ६, २०८२ सोमबार ०८:२७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।