जितपछि अभिषेक शर्माले पाकिस्तानी खेलाडीहरूको बारेमा के भने?

एजेन्सी : एसिया कप २०२५ को सुपर-४ को रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। यस प्रतियोगितामा भारतले पाकिस्तानलाई हराएको यो लगातार दोस्रो पटक हो।
यस खेलमा भारतका लागि अभिषेक शर्माले सर्वाधिक रन बनाए र उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ३९ बलमा ५ छक्कासहित ७४ रन बनाए।
खेलपछि अभिषेक शर्माले पाकिस्तानी खेलाडीको व्यवहारले आफूलाई थप आक्रामक ब्याटिङ गर्न प्रेरित गरेको बताए।
उनले भने, ‘पाकिस्तानी खेलाडीहरू बिनाकारण हामीमाथि जाइलागेको मलाई पटक्कै मन परेन। मैले त्यसरी ब्याटिङ गर्नुको कारण पनि त्यही हो।’
दोस्रो इनिङ्समा जब भारतीय टोली ब्याटिङका लागि मैदानमा उत्रिएको थियो, त्यसबेला अभिषेक शर्मा र पाकिस्तानी खेलाडी ह्यारिस रउफबीच भनाभन भएको देखिएको थियो।
खेलमा टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनायो। उसका लागि ओपनर ब्याट्सम्यान साहिबजादा फरहानले सर्वाधिक ५८ रनको योगदान दिए।
१७२ रनको लक्ष्य पछ्याएको भारतले १९ औं ओभरमा लक्ष्य पूरा गर्दै जित दर्ता गर्यो। अभिषेकबाहेक शुभमन गिलले ४७ र तिलक वर्माले ३० रन बनाए।
असोज ६, २०८२ सोमबार ०७:४८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।