मनसुन कमजोर हुँदै, तर आज राति कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुन कमजोर हुँदै, तर आज राति कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ।

हाल मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको प्रभावका कारण केही स्थानमा वर्षाको सम्भावना कायमै रहेको छ।

विभागले आज बिहान ६:०० बजे जारी गरेको पूर्वानुमान अनुसार, दिउँसो कोशी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागहरूमा सामान्यतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानमा र अन्य पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्छ।

विभागका अनुसार आज राति मौसममा केही परिवर्तन हुनेछ। विशेषगरी, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडका एक-दुई स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण ती क्षेत्रका नदी-खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भन्दै विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

देशका अन्य भू-भागमा भने राति मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ।

असोज ६, २०८२ सोमबार ०७:३७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।