पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा, सवारीको चाप उच्च

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा, सवारीको चाप उच्च

भरतपुर : इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा खसेको पहिरोका कारण गएरातिदेखि बन्द मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहान ५ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

पहिरो खस्ने क्रम नरोकिएपछि सुरक्षाका लागि गएराति ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरिएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार सडक खुले पनि सवारीसाधनको चाप अत्यधिक छ।

उनले लामो जाम भएकाले सबैलाई आफ्नो लेन अनुशासन पालना गरेर यात्रा गर्न अनुरोध गरेका छन्। सडक खुलेपछि दुई दिनदेखि अलपत्र परेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।

शुक्रबार साँझदेखि पहिरोले अवरुद्ध भएको यो सडक आइतबार दिउँसो मात्रै एकतर्फी सञ्चालनमा आएको थियो।

तर, सोमबार साँझ करिब ८ बजे पुनः पहिरो खसेपछि राति नै पहिरो पन्छाएर यातायात सञ्चालनको प्रयास गरिए पनि जोखिम बढेकाले बन्द गरिएको थियो।

दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यो सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

असोज ६, २०८२ सोमबार ०६:५६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।