स्वास्थ्यमन्त्रीमा सिफारिस विवादित पृष्ठभूमिकी संगीताको कारण रोकियो पाँच मन्त्रीको नियुक्ति

स्वास्थ्यमन्त्रीमा सिफारिस विवादित पृष्ठभूमिकी संगीताको कारण रोकियो पाँच मन्त्रीको नियुक्ति

काठमाडौँ : आर्थिक अनियमितमा विवादित पृष्ठभूमि भएको संगीता कौशल मिश्राको कारण नियुक्तिको सिफारिसमा परेका पाँच मन्त्रीको नियुक्ति रोकिएको छ। स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरणका आपूर्तिकर्ताको स्वार्थमा काम गरेकी थिइन्।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेलामा उनले मिश्रासहितको आफ्नो विश्वासिलो समूहलाई विभागमा लगेका थिए। मिश्रा विभाग प्रमुखहुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरणको खरिद निश्चित व्यापारिक समूहको स्वार्थमा भएको थियो।

यसबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। बस्नेत मन्त्रीबाट हटेपछि छोटो समयका लागि स्वास्थ्यमन्त्री भएकाहरूको पालामा समेत मिश्रा विभागमै टिकेकी थिइन्। प्रदीप पौडेल मन्त्रालयमा आएपछि उनको सरुवा भएको थियो। पौडेलले मिश्राको सरुवा गरेर विकास देवकोटालाई विभागको प्रमुखमा लगे पनि देवकोटाले समेत मिलेमतोमै खरिद प्रक्रिया अगाडि बढाए। पछि उनी बढुवा भएर मन्त्रालयको सचिव भएका थिए।

बस्नेतको पालामा अनियमित रूपमा विभागले गरेको खरिद निर्णयमा प्रत्यक्ष जोडिएकी मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन भ्रष्टाचारको विरोधमा जेन-जी पुस्ताले गरेको आन्दोलनको बलमा बनेको सरकारले आइतबार सिफारिस गरेको थियो।

मन्त्री नियुक्त हुने भएपछि मिश्राले आइतबारै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। उनीसहित पाँच जनालाई मन्त्रीमा नियुक्त गर्न आइतबार बेलुकै राष्ट्रपति कार्यालयमा नाम समेत पुगेको थियो।

बिचमा उकेरामा मिश्राबारे प्रकाशित समाचारको अध्ययनपछि मिश्रालाई नियुक्त गर्दा विवाद हुने भएपछि प्रधानमन्त्रीको सचिवालयबाट राष्ट्रपति कार्यालयमा तत्काल नियुक्त नगर्न अनुरोध गर्दै फोन गएको थियो। जानकारस्रोतका अनुसार मिश्राको पृष्ठभूमिबारे गृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएपछि नै उनले राष्ट्रपति कार्यालयमा फोन गरेर नियुक्ति रोक्न लगाएकी थिइन्।

“कार्य विभाजनसहित पाँच जनाको नाम राष्ट्रपतिको कार्यालयमा आएको थियो। तर पुन तत्काल नियुक्त नगर्न अनुरोध आएपछि अब सोमबार मात्र यसबारे निर्णय हुन्छ,’ राष्ट्रपति कार्यालयको स्रोतले उकेरालाई बतायो। मिश्रा बाहेक अनिलकुमार सिन्हा, जगदीश खरेल,महावीर पुन र डा मदन परियार मन्त्रीमा सिफारिस भएका थिए।

साढे चार अर्बको खरिदमा बदमासी

बस्नेतको १० महिने कार्यकालमा साढे चार अर्ब बराबरको स्वास्थ्यको उपकरण तथा सामग्री खरिद भएको थियो। विभाग मार्फत खरिद भएका अधिकांश टेण्डरको स्पेशिफिकेशनमा खेलेर निश्चित कम्पनीको स्वार्थमा काम भएको थियो। 

खरिदमा मिलेमतोको प्रारम्भ मन्त्रालयको नेतृत्वतहबाटै भएको थियो। त्यसमा तत्कालिन स्वास्थ्य सचिव डा रोशन पोखरेल समेत संलग्न देखिएका थिए। मिश्रालाई विभागको महानिर्देशक बस्नेतले बनाएका थिए। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा निर्देशकमा डा. श्रवण कुमार थापा थिए। खरिद शाखा प्रमुखमा डा. सुरेन्द्र चौरासिया थिए। बायोमेडिकल इन्जिनियर आशिष् चौहान थिए। यही समूह मिलेर विभागको खरिदको स्पेशिफिकेशन लक्ड गरेर निश्चित व्यापारिको स्वार्थमा काम गरेका थिए।

पछि मिश्रा, थापा र चौरासियाको सरुवा भयो। तर चौहान विभागमै रहे। उनी प्रदीप पौडेलको पालामा मिलेमतोमा भएको खरिदमा पनि सहयोगी नै थिए। 

मिश्रा विभाग प्रमुखहुँदा उकेरामा प्रकाशित समाचार

असोज ५, २०८२ आइतबार २३:५७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।