दुई दिनपछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, रोकिएन तुइन खोलाको पहिरो

दुई दिनपछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, रोकिएन तुइन खोलाको पहिरो
तस्विर : मुग्लिन बजार

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ। 

दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन। रातको समयमा जोखिम हुने भएकाले अहिले  ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो। त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो। सोही स्थानमा पुनः पहिरो खसेको हो। यो सडकमा  दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन्। अब यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही रोकिएका छन्।

असोज ५, २०८२ आइतबार २१:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।