जेनजी आन्दोलनका घाइतेको उपचारका लागि भन्दै रचना र एलिनाको नक्कली आइडीबाट मागियो ५० हजार

काठमाडौं : पछिल्लो समय चल्तीमा रहेका गायिका हुन् एलिना चौहान र रचना रिमाल। उनीहरूले गत भदौ २३-२४ गते भएको जेनजी आन्दोलनलाई सामाजिक सञ्जालमार्फत समर्थन गरे। एलिना हाल अमेरिकामा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहेकी छन् भने रचना धमाधम फिल्म तथा अन्य गीतहरू रेकर्ड गरिरहेकी छन्।
उनीहरूको गीत, म्युजिक भिडियो तथा बोली लोकप्रिय भएकाले हाल फेक आइडी बनाएर उनीहरूको फोटो प्रयोग गरी सामाजिक सञ्जालमार्फत ठगी धन्दा मौलाएको छ। त्यो पनि जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार तथा अन्य खर्चका लागि भन्दै। ठगहरूले आफूले जेनजीहरूका लागि रकम उठाएको भन्दै ५० हजार रूपैयाँ इसेवा मार्फत ट्रान्सफर गर्न आग्रह गरेका छन्।
एलिना चौहानको नाममा बनेको आइडीमार्फत विभिन्न व्यक्तिसँग पैसा मागिन थालेपछि उनले आधिकारिक फेसबुकमार्फत आफूले कसैसँग पैसा नमागेको र यस्ता अनुरोधहरूलाई नदिइदिन आग्रह गरेकी छन्।
उनले लेखेकी छन्, ‘मेरो फेसबुक आइडी दुरुपयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएकी छु। सबैलाई अनुरोध छ, सावधान रहनुहोस्। त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस्। कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त ब्लक/रिपोर्ट गर्नुहोस्।’
यद्यपि उनले फेक आइडी प्रयोग भएकामा आपत्ति जनाए पनि ठगलाई कानुनी कारबाही गर्ने वा साइबर ब्युरोमा उजुरी गर्नेबारे केही उल्लेख गरेकी छैनन्।
रचना रिमालको पनि एलिनाको जस्तै अवस्था छ। उनको नाम र फोटो प्रयोग गरेर बनेको आइडीमार्फत पनि पैसा मागिएको छ। उनले पनि आफूले कसैसँग पैसा नमागेको बताउँदै यस्ता ठगहरूलाई पैसा नदिन सबैलाई आग्रह गरेकी छन्।
उनले लेखेकी छन्, ‘मेरो तस्बिर प्रयोग गरेर फेसबुक अकाउन्ट खोली ठगी गर्ने प्रयास भएको थाहा पाएकी छु। कृपया यस्तो स्क्याममा नपर्नुहोस्। मैले पैसा मागेकी छैन। मेरो नाम र फोटो प्रयोग गरेर गरिएको यस्तो गतिविधि तुरुन्त बन्द गर्नुस्।’
उनले पनि आफ्नो नाम र फोटो प्रयोग गरेर रकम मागिएको भन्दै सावधान रहन आग्रह गरेकी छन्। यसअघि पनि उनी दुई वर्षअघि आफ्नो नाममा खोलिएका १२ भन्दा बढी नक्कली आइडीको स्क्रिनसट सार्वजनिक गरेकी थिइन्।
त्यस्तै, हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ का ‘राज मास्टर’का नामले परिचित कलाकार तथा निर्देशक राजु पौडेलको पनि नक्कली आइडी बनाएर उनको नजिकका व्यक्तिसँग पैसा मागिएको घटना बाहिर आएको थियो। पौडेलले पनि सामाजिक सञ्जालमार्फत आफूले कहिल्यै पैसा नमागेको र त्यस्तो सन्देश आएमा ब्लक गर्न आग्रह गरेका थिए।
असोज ५, २०८२ आइतबार २१:०२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।