राजनीतिक दबाबमा राखिएका तीन करोड भन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका सबै टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकार तीन करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नगरिएका, एलएमबीआईएसमा मात्र प्रविष्ट गरिएका वा राजनीतिक दबाबमा परेर आयोजना बैंकमा राखिएका योजनाहरू पनि रोक्का गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।
यो कदमबाट चालु खर्चसहित करिब १ खर्ब २० अर्ब रुपैयाँ जोगिन सक्ने सरकारको अनुमान छ। रोक्का गरिएको रकमबाट पहिल्यै सम्पन्न कामको भुक्तानी गर्न सकिने र बाँकी रकम राष्ट्रिय गौरवका आयोजनासहित ठूला पूर्वाधार योजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रयोग गरिने मन्त्री खनालले बताए।
त्यस्तै, सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय समेत गरेको छ। उक्त कोषमा नेपालभित्र र बाहिरबाट योगदान गर्न सकिनेछ भने बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूले आफ्नो सीएसआर रकम त्यहाँ राख्न पाउने व्यवस्था हुनेछ। त्यस्तो रकम कर कट्टी योग्य हुने निर्णय पनि बैठकले गरेको छ।
असोज ५, २०८२ आइतबार २०:४४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।