चर्को दबाबमा घिसिङलाई मन्त्री बनाएको प्रधानमन्त्री कार्कीको दाबी

चर्को दबाबमा घिसिङलाई मन्त्री बनाएको प्रधानमन्त्री कार्कीको दाबी

काठमाडौं : प्रधानमन्त्री नियुक्त भएको नौ दिन बित्दासमेत सरकार गठनलाई पूर्णता दिन नसकेकी अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङलाई दबाबमा मन्त्री बनाएको खुलाएकी छिन्।

घिसिङको नाम पहिला अन्तरिम सरकारको प्रधानमन्त्रीमा आएको थियो। उनले आफू तयार रहेको समेत प्रतिक्रिया दिएका थिए। कार्कीको नाम आएपछि एक समूहले उनको पक्षमा जंगीअड्डा बाहिर नाराबाजी समेत गरेको थियो। 

कार्कीले प्रधानमन्त्रीको शपथ लिएको चार दिनपछि घिसिङसँगै तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। आइतबार उद्योगी तथा ब्यापारी समूहसँगको भेटमा उनले  घिसिङलाई मन्त्री नबनाएको भए सरकार गठन नै नहुनेगरि चर्को दवाव आएको बताइन्। घिसिङ मन्त्री नियुक्त भएपछि डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका थिए।

आइतबारको भेटमा केही उद्योगीले घिसिङको कार्यशैलीप्रति असन्तुष्टी जनाएपछि कार्कीले आफ्नो इच्छा भन्दा पनि चर्को दवावका कारण घिसिङलाई मन्त्री बनाएको खुलाइन्।

‘कुलमानजीलाई नराखेको भए मन्त्रिमण्डल नै नबन्ने अवस्था थियो’ कार्कीको भनाई उदृत गर्दै भेटमा सहभागी एक व्यवसायीले उकेरासँग भने। 

नेपाल विद्धुत प्राधिकरणको प्रमुखहुँदा लोडसेडिङ अन्त्य गरेको जश घिसिङले पाए। केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएपछि राजनीतिमा आउन उनी सक्रिय भएका थिए।

विदेशमा रहेका नेपालीबाट राजनीतिक अभियान शुरु गरेका घिसिङ २०७९ मा पनि सांसदको उम्मेदवार बन्न चाहेका थिए। काठमाडौं ३ मा जोखिम देखेपछि उनी ब्याक भएका थिए।

असोज ५, २०८२ आइतबार १९:५९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।