भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी, जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी, जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन

काठमाडौं : सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाउने निर्णय गरेको हो।

समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए।

त्यस्तै, मन्त्रिपरिषद्ले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएका केसीलाई तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको दबाबका कारण पदबाट हटाइएको थियो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै बनेको केपी ओली नेतृत्वको सरकारले उनलाई बिचैमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा गरेको थियो।

असोज ५, २०८२ आइतबार १९:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।