आक्रमणको डरले पद छाडेका जनप्रतिनिधिको राजीनामा फेसबुकमा मात्रै, भन्छन्- ‘परिस्थिति त्यस्तै थियो’

आक्रमणको डरले पद छाडेका जनप्रतिनिधिको राजीनामा फेसबुकमा मात्रै, भन्छन्- ‘परिस्थिति त्यस्तै थियो’

बुटवल : जेनजी आन्दोलनका क्रममा धेरै राजनीतिक दलका पार्टी कार्यालय र नेताका घरहरूमा आगजनी भयो। धमाधम नेताहरूका घर आगो लगाउन थालेपछि नेताहरूले धमाधम राजीनामा दिए, त्यो पनि सामाजिक सञ्जालबाट। आन्दोलन उग्र हुँदै जाँदा कुटाइ खाने डरले विभिन्न बहाना बनाएर नेताहरूमा राजीनामा दिने लहड नै देखियो। 

जब आन्दोलन मत्थर भयो। नेताहरू चुपचाप बसिरहे। फेसबुकबाट दिएको राजीनामा केवल आक्रमणबाट बच्नु र सस्तो लोकप्रियताका लागि जस्तो मात्र भयो।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले आन्दोलनकारीलाई दमन गरेको भन्दै भदौ २४ गते मन्त्री पद त्याग गरेको घोषणा गरे।

जनमत पार्टीका प्रदेश सांसद सीके गुप्ताले पनि सांसद पदबाट राजीनामा दिएको घोषणा गरे। पूर्व सामाजिक विकास मन्त्री समेत रहेका गुप्ताले आन्दोलन मत्थर भएपछि उक्त पोष्ट नै सामाजिक सञ्जालबाट हटाए। अर्का सांसद कपिलबस्तुका नवलराज लामिछानेले पनि राजीनामा दिए।

तर यी कुनै पनि सांसदको आधिकारिक राजीनामा पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा पुगेको छैन। जनताको सेवक भएर राजनीतिमा आएकाहरू आन्दोलनका क्रममा आफ्नो घर जल्ने भएपछि राजीनामा दिए। तर आन्दोलन मत्थर भएपछि भने सबैले यसलाई ‘परिस्थिति’का कारण मात्र राजीनामा दिएको जवाफ दिइरहेका छन्। 

लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सभामा कुनै पनि सांसदले राजीनामा नबुझाएको बताए। ‘यहाँ राजीनामा आएको छैन। त्यो बेलाको परिस्थितिका कारण उहाँहरूले घोषणा गर्नुभएको होला’ उनले भने। 

स्थानीय जनप्रतिनिधिले पनि दिए राजीनामा

‘जेनजी’को आन्दोलन चरम उत्कर्षमा पुग्दा स्थानीय नेता कार्यकर्ताहरूले पनि धमाधम पार्टी परित्यागको घोषणा गरे। एमाले र नेपाली कांग्रेसका नेताहरूले पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा लेखे।

नेकपा एमाले रुपन्देहीका जिल्ला सचिव एवं सैनामैना नगरपालिकाका पूर्व मेयर चित्र बहादुर कार्कीले एमाले परित्यागको घोषणा गरे।

उनले राजीनामा घोषणा गर्नु अघि शक्तिशाली नागरिक सरकार निर्माणका लागि मन्त्रिपरिषद्का सबैले सामूहिक राजीनामा दिनुपर्ने बताएका थिए।

त्यस्तै देवदह नगरपालिकाका ध्रुव खरेलले पनि एमालेबाट राजीनामा दिए। ‘घर नै जलाउन थालेपछि राजीनामा दिनुपरेको हो। सुरक्षाकर्मीले समेत राजीनामा लेख्नुस भनेपछि यसो गरिएको हो’ मेयरको सचिवालयले भन्यो।

त्यस्तै उपप्रमुख विद्यालक्ष्मी गुरुङले पनि एमाले परित्याग गरिन। सामाजिक सञ्जालमा लेख्दै उनले पार्टी परित्यागको घोषणा गरेकी हुन।

 सैनामैनाकी वीना रानाले पनि एमाले परित्याग गरिन्। एमालेनिकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशका निलम्बित अध्यक्ष सुरज खरेलले पार्टीको सदस्यता त्यागेको घोषणा गरे। पछिल्लो समय उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्।उनी देवदहका मेयर खरेलका छोरा हुन। हालै मात्र युवा संघले संगठन विरोधी कार्य गरेको आरोपमा उनलाई निलम्बन गरेको थियो।

एमालेनिकट राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं जिल्ला कमिटी सदस्य श्रद्धा कुँवरले पनि पार्टी परित्यागको घोषणा गरेकी छन्। उनले केपी ओली सरकारको तानाशाही र बर्बरतापूर्ण संवेदनहिनता देखेपछि पार्टीमा बस्न नसकेको उल्लेख गरेकी छिन्। 

त्यस्तै एमालेका नेता उपेन्द्र अधिकारीले पनि पार्टी परित्याग गरेका छन्। गएको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ५ मा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले युवा विद्यार्थी माथि सरकारले गरेको दमनबाट आजित भएर एमाले परित्याग गरेको उल्लेख गरेका छन्। 

युवा संघ तिलोत्तमा-८ का अध्यक्ष एवं संघको साइबर सर्कल विभागका जिल्ला सदस्य कमल अर्यालले पनि एमाले परित्यागको घोषणा गरे। त्यस्तै सैनामैनाका एमाले नेता बलराम पौडेलले पनि पार्टी परित्याग गरे।

दाङको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डीसीले पनि पदबाट राजीनामा दिएको फेसबुकमार्फत घोषणा गरिन्।

तर सामाजिक सञ्जालमा पार्टी परित्याग गरेका कसैले पनि पार्टीमा आधिकारिक परित्यागको निवेदन भने दिएका छैनन्। ‘जेनजी’को आन्दोलनबाट आत्तिएर बच्नकै लागि उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन। एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले आन्दोलनका कारण आफ्ना सुरक्षाका निम्ति धेरैले यस्तो गरेको बताए। ‘पार्टीलाई आधिकारिक केही जानकारी आएको छैन। उहाँहरूले आफ्नो सुरक्षाका निम्ति लेख्नुभएको हो’ उनले भने।

उनले सामाजिक सञ्जालमा आएका विषयलाई पार्टीले आधिकारिक नमान्ने बताए। ‘मेरो प्रदेश कमिटी अध्यक्षसँग पनि कुराकानी भएको छ। कसैको पनि पार्टीमा आधिकारिक पार्टी परित्यागको पत्र आएको छैन’ उनले भने। 

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पनि कुनै पनि जनप्रतिनिधिले पार्टी परित्याग गरेको भनेर पार्टी सामु नआएको दाबी गरे।

असोज ५, २०८२ आइतबार १६:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।