बलात्कारको आरोपमा तनहुँ र पाल्पाबाट तीन जना पक्राउ

बलात्कारको आरोपमा तनहुँ र पाल्पाबाट तीन जना पक्राउ

काठमाडौं : प्रहरीले तनहुँ र पाल्पामा भएका बलात्कारका दुई छुट्टा-छुट्टै घटनामा संलग्न रहेको अभियोगमा एक स्वास्थ्यकर्मीसहित तीन जनालाई पक्राउ गरेको छ।

तनहुँमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भानु नगरपालिका-३, तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत ४१ वर्षीय सुमित शाहलाई शनिबार बिहान पक्राउ गरिएको हो।

सिराहा घर भएका शाहले ती बालिकालाई आफ्नै मेडिकलभित्र करणी गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी चौकी तुरतुरेले उनलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, पाल्पामा २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

रामपुर नगरपालिका-५ का २० वर्षीय अशिल श्रेष्ठ र सोही नगरपालिका-४ का २० वर्षीय प्रवेश मल्ललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

असोज ५, २०८२ आइतबार १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।