पूर्वाग्रह राखेर ठेक्का तोड्दिनँ, तर काम नगर्ने व्यवसायीलाई छोड्दिनँ : मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रह राखेर ठेक्का नतोडिने स्पष्ट पारेका छन्, तर उनले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटघाटमा मन्त्री घिसिङले काममा ढिलासुस्ती र गुणस्तरहीनता अब सह्य नहुने बताए।
‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति व्यापक छ,’ उनले भने, ‘बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा हुँदाहुँदै पनि किन काम हुँदैन? यस्तो प्रवृत्ति अब स्वीकार्य हुँदैन।’
विदेशमा उत्कृष्ट काम गरेका नेपाली निर्माण व्यवसायीहरू आफ्नै देशमा भने असफल देखिनु दुःखद भएको उनको भनाइ थियो। उनले व्यवसायीहरूलाई तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरे।
निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार व्याप्त रहेको भन्ने आम बुझाइतर्फ सङ्केत गर्दै मन्त्री घिसिङले भने, ‘अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ। यसमा निर्माण व्यवसायीहरूले पनि इमान्दारीपूर्वक साथ दिनुपर्छ।’
उक्त अवसरमा महासङ्घका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोगिरहेका समस्याबारे मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाउँदै समाधानका लागि ध्यानाकर्षण गराएका थिए।
असोज ५, २०८२ आइतबार १४:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।