नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा, वेस्ट इन्डिजविरुद्ध खेल्न सोमबार उड्ने

काठमाडौं : वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ‘युनिटी कप’ टी-२० सिरिजमाथि मडारिएको अनिश्चितताको बादल हटेको छ।
भिसा प्रक्रियामा रोक लागेपछि सङ्कटमा परेको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ।
भिसा सुनिश्चित भएसँगै नेपाली टोली सोमबार यूएई प्रस्थान गर्ने निश्चित भएको छ।
यसअघि, नेपालमा भएको ‘जेन-जी’ आन्दोलन र त्यस क्रममा कारागारबाट करिब १३ हजार कैदी भागेको घटनापछि यूएई सरकारले नेपाली नागरिकका लागि सबै प्रकारका भिसामा अस्थायी रोक लगाएको थियो।
यसको प्रत्यक्ष असर नेपाली क्रिकेट टोलीको यूएई भ्रमणमा परेको थियो, जसका कारण आइतबार विहानसम्म पनि सिरिज नै हुने वा नहुने भन्नेमा शङ्का उत्पन्न भएको थियो।
भिसा प्रक्रियामा देखिएको यो जटिलता समाधान गर्न नेपाल क्रिकेट संघ (क्यान)ले यूएईको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग विशेष समन्वय गरी गरेको थियो।
नेपालले यही सेप्टेम्बर २७, २९ र ३० तारिखमा यूएईको प्रतिष्ठित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्ने तालिका छ।
‘युनिटी कप’ नाम दिइएको यो सिरिजका लागि १५ हजारसम्म मूल्य पर्ने टिकटको बुकिङसमेत खुला भइसकेको अवस्थामा भिसा समस्याले अन्योल सिर्जना गरेको थियो।
असोज ५, २०८२ आइतबार १३:३७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।