केन्द्रीय कमिटी भङ्ग गर्दै माओवादी केन्द्र, मंसिरमा नवौं महाधिवेशन गर्ने तयारी

काठमाडौं : देशमा हालै भएको ‘जेन-जी’ आन्दोलनले सिर्जना गरेको राजनीतिक परिस्थितिका बीच माओवादी केन्द्रले आफ्नो वर्तमान केन्द्रीय समिति भङ्ग गर्ने र नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा जाने तयारी गरेको छ।
यस सम्बन्धमा निर्णय लिन आज पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ। बैठकले २९९ सदस्यीय वर्तमान केन्द्रीय कमिटी भङ्ग गर्ने प्रस्ताव तयार पार्नेछ।
स्रोतका अनुसार, पदाधिकारी बैठकको यो प्रस्तावलाई अनुमोदनका लागि असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको पूर्ण बैठकमा पेश गरिनेछ। उक्त बैठकले प्रस्ताव पारित गरेसँगै माओवादी केन्द्रको हालको केन्द्रीय समिति स्वतः भङ्ग हुनेछ।
यसै क्रममा, आउँदो मंसिरमा पार्टीको नवौं राष्ट्रिय महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व र कार्यदिशा तय गर्ने आन्तरिक तयारी तीव्र पारिएको छ। पार्टीको आठौं महाधिवेशन २०७८ पुसमा काठमाडौंको कमलादीमा भएको थियो।
माओवादी केन्द्रको यो अप्रत्याशित निर्णय हालै देशव्यापी रूपमा फैलिएको ‘जेन-जी’ आन्दोलनको प्रत्यक्ष प्रभाव हो।भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा भदौ २३ गतेबाट शुरू भएको युवाहरूको स्वतःस्फूर्त आन्दोलनले देशको राजनीतिक समीकरण नै बदलिदिएको थियो।
उक्त आन्दोलनको दबाबका कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुग्यो भने हाल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।
यही राजनीतिक उथलपुथलबीच प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भइसकेको छ। यो अवस्थामा पुराना राजनीतिक दलहरूमाथि जनताको ठूलो दबाब छ।
‘जेन-जी’ आन्दोलनले स्थापित नेता र परम्परागत राजनीतिक शैलीप्रति गम्भीर असन्तुष्टि प्रकट गरेपछि माओवादी केन्द्रलगायतका दलहरू आफूलाई नयाँ र परिमार्जित रूपमा प्रस्तुत गर्न बाध्य भएका छन्।
असोज ५, २०८२ आइतबार १३:२०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।