कांग्रेसको नेतृत्व छाड्न देउवा राजी; तर गुटका नेता भन्छन्- ‘हुँदैन सभापतिज्यू, परिस्थिति बदलिन्छ’

काठमाडौं : जेन-जी पुस्ताको प्रदर्शनको दोस्रो दिन आक्रोशित समूहबाट आफ्नै निवासमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी नेतृत्व छाड्न राजी भए पनि आफ्नो गुटको दबाबमा परेका छन्।
देउवा पार्टीको विशेष महाधिवेशन वा कार्यवाहक सभापति तोक्ने दुवै विकल्पका लागि तयार रहेको, तर संस्थापन भनिने उनकै गुटका नेताहरूले भने ‘परिस्थिति नबदलिएसम्म नछाड्न’ भन्दै दबाब बढाइरहेका छन्।
विशेष महाधिवेशनमा गए गगन थापा र विश्वप्रकाश शर्मा समूह हावी हुने भन्दै उनीहरूले उपचारमा रहेका देउवालाई तत्काल नेतृत्व नछाड्न दबाब बढाएको स्रोतको दाबी छ।
विकल्पमा देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोक्न समेत राजी भए पनि खड्काको नेतृत्वमा महाधिवेशन भए देउवाको उत्तराधिकारी उनी नै हुने डरले उनकै समूहका अन्य नेताले रोकिरहेका छन्। संस्थापनभित्रै देउवाको उत्तराधिकारी हुन कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहदेखि शशांक कोइरालासम्म सक्रिय छन्।
विशेष महाधिवेशन र कार्यवाहक तोक्ने विषयमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला समेत राजी नभएको स्रोतको दाबी छ। पार्टीको नियमित महाधिवेशन नै मंसिरमा हुनसक्ने भन्दै त्यसैबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा कोइराला छन्। उनी कार्यवाहक तोक्ने विकल्पको पनि विपक्षमा छन्।
‘सहमतिमा देउवा नेतृत्व छाड्न राजी हुनुहुन्छ। तर, आफ्नै गुटका नेताले जटिल अवस्थामा छाड्न हुन्न, परिस्थिति बदलिन्छ भनेर दबाब बढाएका छन्,’ स्रोतले उकेरासँग भन्यो, ‘उहाँले मेरा कारण पार्टी संकटमा नपरोस् भन्दा पनि नेताहरू तयार भएनन्।’
यसका अलावा आज आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता समेत रहेका देउवा गुटका नेता प्रकाशशरण महतले महामन्त्रीद्वयको चर्को आलोचना गरे। सभापति शेरबहादुर देउवामाथि साङ्घातिक हमला भई उपचाररत रहेको अवस्थामा नेतृत्व परिवर्तनको बहस चलाउनु दुर्भाग्यपूर्ण भएको बताए।
‘आलो घाउ ठीक नहुँदै पार्टीभित्र जुन बहस शुरू गरिएको छ, त्यसप्रति गम्भीर होऔँ,’ उनले भनेका थिए, ‘अभिभावकमाथि साङ्घातिक प्रहार हुँदा, उपचार पूरा हुँदासम्म हामी पर्खिन सक्दैनौँ? आकाश खस्छ? त्यसका लागि पनि नपर्खिने?’
भदौ २४ को प्रदर्शनमा देउवा र उनकी श्रीमती आरजु राणा देउवा आफ्नै निवासमा कुटिएका थिए। आक्रमणबाट दुवैलाई गम्भीर चोट लागेको थियो। सेनाले बल्लतल्ल उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो।
दबाब बढाउँदै गगन-विश्व
युवाको भावनाअनुसार पार्टी पुनर्गठनका लागि सामाजिक सञ्जालबाट दबाब बढाइरहेका महामन्त्री गगन थापा विशेष महाधिवेशन वा मंसिरमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
उनले शनिबार भिडियो सन्देश जारी गर्दै पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिमार्फत विशेष महाधिवेशन गर्नुपर्ने वा पार्टीको विधानले अप्ठ्यारो पार्ने अवस्थामा ती प्रावधान निलम्बन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेत तत्काल नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्।
तर, गगन थापा पनि कार्यवाहक तोकेर जाने पक्षमा भने छैनन्। कार्यवाहक तोक्दा नेतृत्व परिवर्तन भएको सन्देश नजाने र सोही समूह हावी हुने गगन समूहको विश्लेषण देखिन्छ।
जेन-जी पुस्ताको आन्दोलनले बर्खास्त गराएको सरकारमा मन्त्री भएर स्वास्थ्य उपकरण खरिद अनियमिततामा जोडिएका कारण आलोचित भएका नेता प्रदीप पौडेल भने नेतृत्व बदल्ने विषयमा मौन देखिन्छन्।
कार्यवाहक तोक्दा पूर्णबहादुरको विकल्प देखिँदैन। अर्का उपसभापति धनराज गुरुङ संस्थापनइतरका हुन् र उनी सहकारी ठगी प्रकरणमा मुछिएर आलोचित छन्।
असोज ५, २०८२ आइतबार १२:१०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।