केराको थामबाट आत्मनिर्भर बन्दै कैलालीका महिला : काठमाडौंसम्म पुग्छन् उत्पादित कपडा, माग धान्नै मुस्किल

केराको थामबाट आत्मनिर्भर बन्दै कैलालीका महिला : काठमाडौंसम्म पुग्छन् उत्पादित कपडा, माग धान्नै मुस्किल

भजनी : कैलालीको टीकापुर-५ की जुगरानी चौधरीको हात तानमा व्यस्त छ। धागोका लपेटा मिलाउँदै, खुट्टाले मेसिन चलाउँदै गर्दा निस्कने ‘खट-खट’ आवाज आज उनको जीवनको सङ्गीत बनेको छ।

केही महिनाअघिसम्म यही समय उनका लागि निकै सकसपूर्ण थियो। दिनभरि घरको काममा जोतिँदा न त परिवार खुसी थियो, न त उनको मनमा शान्ति। आम्दानी नहुने कामले दिएको मानसिक तनावले उनलाई हरेक दिन गलाउँथ्यो।

तर, आज अवस्था फेरिएको छ। २५ दिने एउटा तालिमले उनको जीवनमा यस्तो परिवर्तन ल्याइदियो, जसको उनले कल्पनासमेत गरेकी थिइनन्। अहिले उनी खेर जाने केराको बोट (थाम) बाट निस्किएको रेसाबाट कपडामा बुन्दैछिन्। यो कपडा उनको पहिचान र आत्मनिर्भरताको प्रतीक बनेको छ।

‘पहिले त खेर जाने केराको थामबाट पनि कपडा बन्छ भन्ने सुन्दा पत्यारै लाग्दैनथ्यो,’ मुसुक्क हाँस्दै जुगरानी भन्छिन्, ‘अहिले आफैँ बनाउन थालेपछि सपनाजस्तो लाग्छ। परिवारले पनि विश्वास गर्न थालेको छ। अब म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ।’

यो परिवर्तनको कथा जुगरानीको मात्र होइन, उनीजस्तै टीकापुरका आठ जना महिलाको हो। उनीहरूलाई टीकापुर-८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उद्यमशीलतासँग जोडेको हो।

सहकारीले सदस्यहरूलाई २५ दिने निःशुल्क तालिममा पठाउने र ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण (तान) उपलब्ध गराउने व्यवस्था मिलाएपछि उनीहरूको दैनिकी फेरिएको छ।

‘हिजो घरमा बसेर दिन कटाउनै मुस्किल हुन्थ्यो, आजभोलि कामले गर्दा समय नै पुग्दैन,’ तालिममा सहभागी अर्की महिला कमला साउद आफ्नो अनुभव सुनाउँछिन्, ‘सीप भएपछि पैसा कमाउन गाह्रो नहुँदो रहेछ। समाजले हेर्ने नजर पनि बदलिएको छ।’

यी महिलाहरूले उत्पादन गरेको केराको रेसाबाट बनेको कपडाको बजार काठमाडौं हो। काठमाडौंको एउटा अल्लो बजारले उनीहरूले बुनेको कपडा प्रतिकिलो तीन सय रुपैयाँमा खरिद गर्दै आएको छ। बजारमा माग यति धेरै छ कि उनीहरूले पुर्याउनै सकेका छैनन्।

‘एउटै कम्पनीको माग धान्न हामीलाई हम्मेहम्मे परेको छ,’ सकुन्तला चौधरी भन्छिन्, ‘रेसा निकालेर धागो बनाउने र कपडा बुन्ने काम अलि झन्झटिलो छ, त्यसैले समय धेरै लाग्छ। यदि हामीसँग आधुनिक मेसिन हुन्थ्यो भने उत्पादन धेरै बढाउन सक्थ्यौँ।’

उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउन सहकारीले नै सहजीकरण गर्दै आएको छ। दुई वर्षअघिदेखि नै केराको थामबाट रेसा उत्पादन गर्दै आएको यो सहकारीले शुरूमा रेसा मात्र बिक्री गर्थ्यो। सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार, त्यतिबेला पनि रेसाको माग धान्न नसक्ने अवस्था थियो।

‘रेसाका लागि चाहिने कच्चा पदार्थ, अर्थात् केराको थाम, हामीले अहिलेसम्म सित्तैमा पाइरहेका छौँ। किसानहरू खुसी भएर दिन्छन्,’ चौधरी भन्छन्, ‘पहिले अरूलाई रेसा बेच्थ्यौँ, अहिले त आफ्नै महिला सदस्यहरूलाई कपडा बनाउनसमेत रेसा पुर्याउन सकिएको छैन।’

आफ्नो सीपले बजार पाएपछि उत्साहित महिलाहरू अब भविष्यको योजना बुन्न थालेका छन्। उनीहरूले सरकार तथा स्थानीय निकायबाट थप सहयोगको अपेक्षा गरेका छन्। उनीहरूको माग छ- उत्पादित कपडाबाट टोपी, झोला, जुत्ता, चप्पल र गुन्द्रीजस्ता तयारी वस्तु बनाउन आवश्यक पर्ने थप सीप र आधुनिक मेसिनमा सहयोग मिलोस्।

‘अहिले हामीले काँचो कपडा मात्र बेचिरहेका छौँ। यदि यसबाट तयारी सामान बनाउन सक्यौँ भने आम्दानी अझै बढ्ने थियो,’ स्थानीय कमलाकुमारी चौधरी भन्छिन्, ‘हामीलाई थप तालिम र आधुनिक मेसिन चाहिएको छ। केही लगानी हामी आफैँ पनि गर्न तयार छौँ।’

‘केराको राजधानी’ भनेर चिनिने टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुन्छ। वर्षेनी हजारौँ टन केराको थाम खेर गइरहेको छ। स्थानीय सरकारले महिलालाई सिलाइकटाइजस्ता परम्परागत तालिममा लाखौँ खर्च गरे पनि आफ्नै क्षेत्रमा उपलब्ध कच्चा पदार्थमा आधारित यस्ता उद्यममा लगानी गर्नुपर्ने महिलाहरूको सुझाव छ।

‘टीकापुरको पहिचान नै केरा हो। यही केराको बोटबाट यहाँका हरेक नागरिक आत्मनिर्भर बन्न सक्छन्,’ कमलाकुमारी थप्छिन्, ‘यसका लागि सही ठाउँमा लगानी आवश्यक छ। स्थानीय सरकारले हामीजस्तै अरू महिलालाई पनि यस्तो तालिम दिनसके रोजगारीका लागि कतै भौँतारिनु पर्दैन, आफैँ सिर्जना गर्न सकिन्छ।’

असोज ५, २०८२ आइतबार ११:४७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।