गगन र विश्वप्रकाशलाई प्रवक्ता महतको प्रश्न- ‘उपचार पूरा हुँदासम्म पर्खिन सकिँदैन? आकाश खस्छ?’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि साङ्घातिक हमला भई उपचाररत रहेको अवस्थामा नेतृत्व परिवर्तनको बहस चलाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
आइतबार प्रदर्शनकारीद्वारा जलाइएको आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै जिम्मेवार नेताहरू नै असंवेदनशील बनेको आरोप लगाए। पार्टी एक भएर कमीकमजोरी हटाउँदै अघि बढ्नुपर्ने बेलामा आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिएको भन्दै उनले आपत्ति जनाए।
‘आलो घाउ ठीक नहुँदै पार्टीभित्र जुन बहस शुरू गरिएको छ, त्यसप्रति गम्भीर होऔँ’, उनले भने।
प्रवक्ता महतले महामन्त्रीद्वयको बदलिएको भूमिकाप्रति कटाक्ष गर्दै केही दिनअघिसम्म सभापतिको सबैभन्दा नजिक रहेकाहरू नै अहिले परिस्थिति बदलिनेबित्तिकै परिवर्तनको कुरा उठाउनु आश्चर्यजनक भएको बताए।
उनले भने, ‘चार दिनअघिसम्म, २३ गतेसम्म त्यही सभापति अत्यन्त ठीक हुने। हामी त बरु अलि टाढा भएका थियौँ। जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ, उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो। नयाँ परिस्थिति बन्नेबित्तिकै अब एकछिन पनि हुँदैन भनेको के हो?’
साङ्घातिक हमलाबाट घाइते भएका सभापतिको उपचार पूरा नहुँदै नेतृत्व परिवर्तनको बहस गर्नुले पार्टीलाई मात्र नभई देशलाई नै अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिलाई मद्दत पुग्ने उनको भनाइ थियो।
‘अभिभावकमाथि साङ्घातिक प्रहार हुँदा, उपचार पूरा हुँदासम्म हामी पर्खिन सक्दैनौँ? आकाश खस्छ? त्यसका लागि पनि नपर्खिने?’, महतले प्रश्न गरे।
नेतृत्वबारे छलफल गर्न पार्टीका केन्द्रीय समिति जस्ता संरचनाहरू रहेको र सभापतिको उपचार सकिएपछि त्यहाँ गम्भीर छलफल गर्न सकिने उनले स्पष्ट पारे। कार्यसम्पादन समितिले गरेको आधिकारिक निर्णयभन्दा बाहिर गएर छुट्टै बहस थाल्नुले पार्टीलाई बलियो नबनाउने उनको चेतावनी थियो।
‘सहज हुँदा अतिशयोक्तिपूर्ण प्रशंसा गर्ने र अप्ठ्यारो हुनेबित्तिकै गालीको वर्षा गर्ने प्रवृत्ति उपयुक्त हुँदैन,’ महतले भने, ‘सन्तुलित र संयमित हौँ। सघन छलफल गरौँ र सामूहिक निष्कर्षमा पुगौँ। अहिलेको अप्ठ्यारो परिस्थितिबाट अगाडि बढ्ने उपयुक्त बाटो त्यही हो।’
भदौ २३ गतेको ‘जेन-जी’ प्रदर्शन र २४ गतेको हिंसात्मक घटनापछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने बहस शुरू गरेका छन्।
असोज ५, २०८२ आइतबार १०:३९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।