स्याफ्रुबेसी-रसुवागढी सडक सञ्चालनमा, कुलुङखोला पुल जोखिममा परेपछि भारी सवारीमा रोक

रसुवा : गत असार र साउनमा आएको बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड मर्मतपछि सञ्चालनमा आएको छ। तर, गोसाइँकुण्ड गाउँपालिका-३ स्थित कुलुङ खोलाको पक्की पुल जोखिममा परेपछि मालबाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।
सडक विभाग र रसुवागढी जलविद्युत् आयोजनाको संयुक्त प्रयासमा सडक मर्मत गरिएको हो। टिमुरेभन्दा माथिको पहरो काट्न कठिन भएपछि हाललाई भोटेकोसी खोलाको किनारबाट अस्थायी बाटो खुलाइएको छ, जुन हिउँद यामभरि मात्र सञ्चालनमा आउनेछ।
निरन्तरको वर्षाका कारण कुलुङ खोलामा पानीको बहाव बढेर पुलको जग नै जोखिममा परेको छ। गल्छी-मैलुङ-रसुवागढी राजमार्ग सुधार आयोजनाका इन्जिनियर कुमारविक्रम पराजुलीका अनुसार, पुलको सुरक्षाका लागि यात्रुबाहक बस र हल्का सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ भने मालबाहक सवारीसाधनमा पूर्ण रोक लगाइएको छ।
गत असार २४ गते ल्हेन्दे खोलाको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको थियो, जसको पुनर्निर्माणअन्तर्गत चिनियाँ पक्षले बेलीब्रिज जडान गरिरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार, पुल बगाउँदा भन्सारले हालसम्म साढे सात अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाइसकेको छ।
यसैगरी, कुलुङखोलाको पुल जोखिममा पर्दा बाढीग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनर्निर्माण पनि अन्योलमा परेको छ। आयोजनाका प्रबन्ध निर्देशक सत्यराम ज्याख्वाका अनुसार, रड, सिमेन्टजस्ता निर्माण सामग्री र उपकरण ढुवानी गर्न नसक्दा आयोजनाले करिब एक करोड २८ लाख रुपैयाँ घाटा व्यहोरिसकेको छ।
आयोजनाको भूमिगत संरचना सुरक्षित भए पनि बाँध क्षेत्रको बाहिरी संरचनामा क्षति पुगेको प्राविधिकहरूले बताएका छन्।
असोज ५, २०८२ आइतबार ०९:४९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।