भारतसँगको खेलअघि पाकिस्तानद्वारा पत्रकार सम्मेलन रद्द, पाकिस्तानको नाम नलिई सूर्यले दिए उत्तर

भारतसँगको खेलअघि पाकिस्तानद्वारा पत्रकार सम्मेलन रद्द, पाकिस्तानको नाम नलिई सूर्यले दिए उत्तर

एजेन्सी : एसिया कपमा भारतसँगको महत्त्वपूर्ण खेलअघि शनिबार पाकिस्तानको क्रिकेट टोलीले आफ्नो पत्रकार सम्मेलन रद्द गर्यो।

भारत र पाकिस्तानबीच सुपर-४ को खेल आज हुँदैछ। यो खेलमा पनि एन्डी पाइक्राफ्ट नै रेफ्री हुनेछन्। यी तिनै रेफ्री हुन् जसले भारत र पाकिस्तानको पहिलो खेलमा दुई देशका खेलाडीलाई हात मिलाउन नभनेपछि पाकिस्तान उनीसँग रुष्ट छ।

खेलको एक दिनअघि शनिबार भारतका तर्फबाट कप्तान सूर्यकुमार यादव पत्रकार सम्मेलनमा उपस्थित भए। पाकिस्तानविरुद्धको खेलबारे सोधिएको प्रश्नमा उनले पाकिस्तानको नाम नलिई भनेका थिए, ‘हामी सुपर-४ का खेलहरूका लागि तयार छौँ।’

यसअघि, सेप्टेम्बर १४ मा भएको समूह चरणको खेलमा भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी कप्तान सलमान आघासँग हात मिलाएका थिएनन्।

पछि पत्रकार सम्मेलनमा सूर्याले भनेका थिए, ‘हामी यहाँ केवल म्याच खेल्न आएका हौँ र हामीले सही जवाफ दिएका छौँ। केही कुराहरू खेल भावनाभन्दा पनि माथि हुन्छन्। हामी पहलगाम आतंकवादी हमलाका सबै पीडित र उनीहरूका परिवारको साथमा छौँ।’

त्यसपछि हात नमिलाउने मुद्दा निकै चर्केको थियो र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले रेफ्री एन्डी पाइक्राफ्टलाई प्रतियोगिताबाटै हटाउन माग गरेको थियो, यद्यपि त्यो माग पूरा भएन।

समूह चरणको खेलपछि बढेको थियो विवाद
भारतीय क्रिकेटरहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाएको विरोधमा सलमान आघा पोस्ट-म्याच प्रिजेन्टेसनमा उपस्थित भएनन्।

पाकिस्तानको अर्को खेल सेप्टेम्बर १७ मा यूएईसँग थियो, तर टोलीले आईसीसीसँग रेफ्रीलाई हटाउनुपर्ने भन्दै उजुरी दर्ता गर्यो। पीसीबीले यदि पाइक्राफ्टलाई हटाइएन भने टोली एसिया कपबाटै बाहिरिने धम्की समेत दिएको थियो।

खेलको दिन पनि पीसीबीका अधिकारीहरूले आईसीसी र म्याच रेफ्रीसँग लामो कुराकानी गरे, जसका कारण नेपाली समयअनुसार राति ८:१५ बजे शुरू हुनुपर्ने खेल एक घण्टा ढिलो शुरू हुन सक्यो। तर, म्याच रेफ्री पाइक्राफ्ट नै रहे।

यूएईविरुद्धको खेलअघि पनि पीसीबीले एसिया कपबाट बाहिरिने धम्की दोहोर्याएको थियो र पाइक्राफ्टलाई नहटाएसम्म म्याच नखेल्ने अडान लिएको थियो।

पीसीबीका अध्यक्ष मोहसिन नकवीको सल्लाहमा यूएई म्याचअघि पाकिस्तानले अभ्यास त गर्यो, तर टोलीबाट कोही पनि पत्रकार सम्मेलनका लागि उपस्थित भएनन्।

यसैबीच, भारतीय कप्तान सूर्यकुमार यादवले ओमानविरुद्धको खेलमा अर्शदीप सिंह ब्याटिङ गर्न चाहेकाले आफू ब्याटिङमा नगएको बताएका छन्।

शुक्रबार भारतले ओमानविरुद्ध ८ विकेट गुमाएर १८८ रन बनाउँदा कप्तान सूर्यकुमार यादव ब्याटिङका लागि आएनन्।

पत्रकार सम्मेलनमा सूर्याले भने, ‘२-३ ओभर बाँकी थियो र अर्शदीप सिंहले मसँग भने कि उनी ब्याटिङ गर्न चाहन्छन्, मैले भनेँ- कुनै समस्या छैन।’

असोज ५, २०८२ आइतबार ०९:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।