हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘विदाई तस्बिर’ सार्वजनिक, नेतन्याहुलाई दोष

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘विदाई तस्बिर’ सार्वजनिक, नेतन्याहुलाई दोष

एजेन्सी : हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका नेपालका विपिन जोशीसहित ४८ जना बन्धकहरूको ‘विदाई तस्बिर’ भनेर एक तस्बिर सार्वजनिक गरेको छ। यो कदम इजरायली सेनाले घेराबन्दीमा रहेको गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने कार्य जारी राखेको बेला आएको हो।

कसम ब्रिगेड्सले शनिबार अनलाइनमा एक संयुक्त तस्बिर पोस्ट गरेको छ, जसमा जीवित तथा मृतक सबै बन्धकहरूको अनुहार देखाइएको छ। प्रत्येकको तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरादको सन्दर्भ दिँदै ‘रोन अराद’ लेखिएको छ। जसमा विपिनको नाम ‘रोन अराद ३८’ लेखिएको छ।

दक्षिणी लेबनानमा आक्रमणका क्रममा अरादको एफ-४ फ्यान्टम विमानको बम समयभन्दा अगाडि नै विस्फोट भएको थियो। उनलाई अमल मुभमेन्टले कब्जामा लिएको थियो र पछि हिजबुल्लाहलाई सुम्पिएको थियो। अरादको मृत्यु भइसकेको विश्वास गरिन्छ, तर उनको अवस्थाबारे कुनै ठोस प्रमाण उपलब्ध छैन।

हमासले जारी गरेको तस्बिरसँगै एउटा सन्देश पनि लेखिएको थियो, जसमा भनिएको छ: ‘नेतन्याहुको अस्वीकार र जमिरको आत्मसमर्पणका कारण, गाजा शहरमा सैन्य कारबाही शुरू हुँदा यो एक विदाई तस्बिर हो।’

इजरायली अधिकारीहरूले गाजामा करिब २० जना बन्धक अझै जीवित रहेको विश्वास गरेको बताएका छन्, जबकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन्। ट्रम्प र नेतन्याहुले बारम्बार सबै जीवित तथा मृतक बन्धकहरूलाई फिर्ता ल्याउने र हमासलाई खतम गर्ने बताउँदै आएका छन्।

तर हमासले भने बढ्दो इजरायली आक्रमण र स्थलगत हमलाले बन्धकहरूको जीवन खतरामा पार्ने चेतावनी निरन्तर दिँदै आएको छ। यसका अलावा उसले बन्धकमध्ये केहीको पहिले नै इजरायली बमबारीमा मारिइसकेका समेत बताएको छ। सशस्त्र प्यालेस्टिनी समूहले बन्धकहरू गाजा शहरका ‘विभिन्न इलाकाहरूमा छरिएर रहेको’ दाबी पनि गरेको छ।

हमासको यो चेतावनी शनिबार तेल अभिभ र अन्य शहरहरूमा हजारौँ इजरायलीहरू सरकारको निन्दा गर्न र युद्ध अन्त्य गरी सबै बन्धकहरूलाई फिर्ता ल्याउन तत्काल र बृहत् सम्झौताको माग गर्दै सडकमा उत्रिनु केही घण्टाअघि आएको हो।

यस महिनाको सुरूमा हमासले दुई इजरायली बन्धकको भिडियो जारी गरेको थियो। योभन्दा करिब एक महिनाअघि पनि उसले दुब्लाएर सुकेका दुई इजरायली बन्धकको फुटेज प्रसारण गरेको थियो, जसमध्ये एकलाई आफ्नो चिहान आफैँ खनिरहेको देखाइएको थियो।

ती तस्बिरहरूले बन्धकका परिवारहरू, इजरायली सरकारी अधिकारीहरू तथा अमेरिका र अन्य इजरायली सहयोगी राष्ट्रहरूमा आक्रोश पैदा गरेको थियो।

गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ मा युद्ध शुरू भएयता इजरायलद्वारा कम्तीमा ६५ हजार २०८ प्यालेस्टिनी मारिएका छन् भने १ लाख ६६ हजार २७१ जना घाइते भएका छन्। मार्च १८ मा इजरायलले हमाससँगको युद्धविराम तोडेपछि १२ हजार ६५३ जना मारिएका छन् भने ५४ हजार २३० जना घाइते भएका छन्।

इजरायलले उक्त क्षेत्रमा भोकमरी फैलाउने क्रम जारी राख्दा पछिल्लो दिनमा कम्तीमा चार जना सहायता खोज्नेहरू मारिएका छन् भने १८ जना घाइते भएका छन्। योसँगै मारिने प्यालेस्टिनी सहायता खोज्नेहरूको कुल संख्या २ हजार ५१८ पुगेको छ।

पछिल्लो दिन गाजा शहरमा दर्जनौँ मानिसहरू मारिएका छन्, घरहरूमा आक्रमण गरी ध्वस्त पारिएको छ र हजारौँ मानिसहरू भाग्न बाध्य भएका छन् किनकि इजरायलले पूरै क्षेत्रलाई लडाइँ क्षेत्र घोषणा गरेको छ।

असोज ५, २०८२ आइतबार ०८:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।