एसिया कप : बंगलादेशले श्रीलंकालाई हरायो, आज भारत-पाकिस्तान भिड्दै

एजेन्सी : एसीसी टी-ट्वान्टी एसिया कपको सुपर फोरमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ।
समूह चरणमा व्यहोरेको हारको बदला लिने क्रममा बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयले उत्कृष्ट अर्धशतकीय पारी खेले।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
बंगलादेशको जितमा ओपनर सैफ हसनले ४५ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए। उनलाई उत्कृष्ट साथ दिएका तौहिद हृदयले ३७ बलमा ४ चौका र २ छक्कासहित ५८ रनको महत्वपूर्ण पारी खेले।
कप्तान लिटन दासले २३ रन जोड्दा अर्का ओपनर तान्जिद हसन भने शून्यमा आउट भए।
श्रीलंकाका लागि वानिन्दु हसरंगा र दासुन शनाकाले समान २-२ विकेट लिए भने दुश्मन्था चामिरा र नुवान थुसाराले १-१ विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।
श्रीलंकाका लागि मध्यक्रमका ब्याटर दासुन शनाकाले उत्कृष्ट ब्याटिङ गर्दै ३७ बलमा ३ चौका र ६ छक्कासहित अविजित ६४ रन बनाए। त्यस्तै, ओपनर कुशल मेन्डिसले ३४, पाथुम निसांकाले २२ र चरिथ असलंकाले २१ रनको योगदान दिए।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २० रन खर्चेर ३ विकेट लिए। मेहदी हसनले २ तथा तस्किन अहमदले १ विकेट हात पारे।
यो जितसँगै बंगलादेशले सुपर फोरमा महत्त्वपूर्ण दुई अंक जोडेको छ। अब बंगलादेशले बुधबार भारत र बिहीबार पाकिस्तानसँग खेल्नेछ।
श्रीलंकाले भने मंगलबार पाकिस्तान र शुक्रबार भारतको सामना गर्नेछ। सुपर फोरको अर्को खेलमा आइतबार भारत र पाकिस्तान भिड्दैछन्। शीर्ष दुई टोलीले उपाधिका लागि आगामी आइतबार फाइनल खेल्नेछन्।
असोज ५, २०८२ आइतबार ०७:५०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।