नेपाल एयरलाइन्सको ग्वाञ्जाओमा सिधा उडान, एकतर्फी भाडा ३० हजार

नेपाल एयरलाइन्सको ग्वाञ्जाओमा सिधा उडान, एकतर्फी भाडा ३० हजार
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको महत्वपूर्ण व्यापारिक शहर ग्वाञ्जाओमा सिधा उडान शुरू गर्ने भएको छ। निगमको पहिलो उडान यही असोज ९ गते काठमाडौंबाट ग्वाञ्जाओका लागि हुनेछ।

निगमले काठमाडौं-ग्वाञ्जाओको एकतर्फी भाडा ३० हजार र दुईतर्फी ५० हजार रुपैयाँ तोकेको छ। निगमका अनुसार, पहिलो चरणमा असोज ९ र १२ गते उडान हुनेछ भने त्यसपछि नियमित रूपमा हरेक हप्ताको आइतबार, मङ्गलबार र शनिबार उडान सञ्चालन गरिनेछ।

लामो प्रयासपछि चीनको महत्त्वपूर्ण शहरमा उडान विस्तार गर्न सफल भएको बताउँदै निकट भविष्यमै दक्षिण कोरिया र अष्ट्रेलियामा पनि सिधा उडान शुरू गर्ने तयारी भइरहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

हाल यो रुटमा चीनको चाइना साउदर्न र नेपालबाट हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेका छन्। नेपालीहरूको बाक्लो उपस्थिति रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा फाइदा पुग्ने अपेक्षा गरिएको छ।

ग्वाञ्जाओ उडानसँगै निगमको अन्तर्राष्ट्रिय गन्तव्य नौ देशका ११ सहरमा पुगेको छ। हाल निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, हङकङ, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा उडान भर्दै आएको छ।

निगमले देशको पहिचान र कूटनीतिक सम्बन्ध विस्तारका साथै विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेको छ।

असोज ५, २०८२ आइतबार ०७:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।