पितृलाई तर्पण दिँदै सोह्रश्राद्ध समापन, भोलिदेखि दुर्गापक्ष शुरू

काठमाडौं : आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष (सोह्रश्राद्ध) आज औँसी तिथिको श्राद्धसँगै समापन गरिँदैछ।
दिवङ्गत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी यो पक्षको अन्त्य गरिन्छ। पितृपक्षको समाप्तिसँगै भोलि (सोमबार) देखि बडादशैँको दुर्गापक्ष प्रारम्भ हुनेछ।
आज औँसीका दिन विभिन्न कारणले रोकिएका श्राद्धहरू पनि गर्ने शास्त्रीय परम्परा छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, कुनै कारणवश आज पनि श्राद्ध गर्न नसक्नेहरूका लागि विभिन्न विकल्प रहेका छन्।
रोकिएको श्राद्ध आश्विन शुक्ल पञ्चमीसम्म, त्यसपछि पनि नसके कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा मङ्सिर सङ्क्रान्तिसम्म पनि गर्न सकिने शास्त्रीय विधान छ।
चाडपर्व र अन्य शुभकार्यअघि पितृहरूलाई सम्झिने वैदिक परम्पराअनुसार सोह्रश्राद्ध गरिन्छ।
धार्मिक मान्यताअनुसार, यस समयमा पितृहरू आफ्ना सन्ततिबाट पिण्ड र पानीको आश गरेर मर्त्यलोकमा आएका हुन्छन्। श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति मिल्ने र पितृहरूको आशिर्वाद प्राप्त हुने विश्वास गरिन्छ।
यद्यपि पितृपक्ष आज समाप्त भए पनि आमाको बुबा (मातामह)को श्राद्ध भने भोलि आश्विन शुक्ल प्रतिपदामा गरिनेछ। यस अवसरमा काठमाडौंको गोकर्णेश्वर, नुवाकोटको बेत्रावती, देवघाट, त्रिवेणी लगायतका तीर्थस्थलहरूमा श्राद्ध गर्नेहरूको भीड लागेको छ।
असोज ५, २०८२ आइतबार ०७:२८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।