अफगानिस्तानबाट आफ्ना सेना भागेका चार वर्षपछि बगराम एयरबेस फिर्ता गर्न तालिबानलाई ट्रम्पको आग्रह

एजेन्सी : तालिबानसँग लड्न नसकेर आफ्ना सेना भागेको चार वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस फिर्ता गर्न आग्रह गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यदि अफगानिस्तानले उक्त एयरबेस अमेरिकालाई फिर्ता नगरे धेरै नराम्रट्ठो परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो। बगराम एयरबेस अमेरिकी सेना अफगानिस्तानमा रहँदा उसैले निर्माण गरेको थियो।
ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘यदि अफगानिस्तानले बगराम एयरबेसलाई त्यसको निर्माता अर्थात् अमेरिकालाई फिर्ता गर्दैन भने, धेरै नराम्रो हुनेछ।’
उसो त ट्रम्पले बगराम एयरबेस पुनः कब्जा गर्ने इच्छा व्यक्त गरेका यो पहिलो पटक होइन।
केही दिनअघि आफ्नो बेलायत भ्रमणका क्रममा उनले आफ्नो सरकारले अफगानिस्तानको उक्त महत्वपूर्ण सैन्य अड्डा पुनः हासिल गर्न प्रयास गरिरहेको बताएका थिए।
उनको यो भनाइप्रति तालिबानले कडा प्रतिक्रिया दिएको थियो।
उक्त समयमा तालिबानले भनेको थियो, ‘इतिहास साक्षी छ कि विदेशी शक्तिहरूलाई हाम्रो भूमिमा कहिल्यै स्वीकार गरिएको छैन।’
असोज ५, २०८२ आइतबार ०७:२३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।