जेनजी आन्दोलनको मौका छोपेर भागेका ६ हजार कैदी फर्काइए, ८ हजार अझै फरार

काठमाडौं : ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताए। उनका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन्। पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको छ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार ५५५ कैदीहरु भागेका थिए। अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए।
उनका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए। सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन्।
आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार आरोपीसमेत फरार रहेका जनाएको छ। उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कैदी बन्दी रहेका छन्।
असोज ४, २०८२ शनिबार २२:३५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।