चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि काठमाडौंमा चार हजार बढी प्रहरी खटिने

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि काठमाडौंमा चार हजार बढी प्रहरी खटिने

काठमाडौं : यस वर्षको दसैँ, तिहारलगायतका चाडपर्वमा सुरक्षालाई सुदृढ बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले विशेष योजना तयार गरी ४ हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ उपत्यकाभित्र चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन चार प्रकारका सुरक्षा रणनीति तय गरिएको छ। “दसैँ, दिपावली र छठ पर्वमा अप्रिय घटना रोकथामका लागि पिकेट ड्युटी, नागरिक सहायता कक्ष, सादा पोसाक प्रहरी, मोबाइल तथा क्यूआरटी टोली परिचालन गरिनेछ,” उनले भने।

परिसरले ९१ स्थानमा पिकेट ड्युटीका लागि ३६४ जना प्रहरी खटाउनेछ भने हाल बल्खु, कङ्लकी र नयाँबसपार्कमा सञ्चालन भइरहेका नागरिक सहायता कक्षलाई विस्तार गरी १४ स्थानमा राख्ने तयारी गरिएको छ। यसका लागि ७२ जना प्रहरी परिचालित हुनेछन्। उपत्यकालाई १४ एरियामा विभाजन गरी सुरक्षा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।

पूजापाठ हुने मन्दिर, टिकट काउन्टर, खसीबोका बजार, ठूला सपिङ मल र गरगहना पसलमा विशेष सुरक्षा दिने योजना बनाइएको छ। यसका लागि सादा पोसाकमा उल्लेख्य संख्यामा प्रहरी खटाइने जनाइएको छ। चोरी, पकेटमारी, लुटपाट, कुटपिटजस्ता अपराध बढी हुने भएकाले विशेष सतर्कता अपनाइने परिसरले जनाएको छ।

यसबाहेक क्यूआरटी टोली, मोबाइल टोली र मोटरसाइकल क्यूआरटी टोली पनि सक्रिय रहनेछन्। दसैँमा लामो समयसम्म घर छाड्ने सर्वसाधारणलाई विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई जानकारी दिई यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

असोज ४, २०८२ शनिबार २२:२९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।