२७ घण्टासम्म पनि खुल्न सकेन नारायणगढ-मुग्लिन सडकखण्ड, हजारौं यात्रु अलपत्र

२७ घण्टासम्म पनि खुल्न सकेन नारायणगढ-मुग्लिन सडकखण्ड, हजारौं यात्रु अलपत्र
तस्विर : मुग्लिन बजार

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरो अझै पन्छाउन सकिएको छैन। सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम निरन्तर भइरहेको भए पनि ढुंगामाटो झर्ने क्रम नरोकिएकाले काम रोक्नुपरेको छ। कार्यालय प्रमुख नारायण लामिछानेले रातको समयमा जोखिम बढी हुने भएकाले आज (शनिबार) साँझको काम स्थगित गरिएको र आइतबार बिहानदेखि पुनः सुरु गरिने जानकारी दिए।

मुग्लिनतर्फबाट तीन र नारायणगढतर्फबाट दुई वटा मेसिन परिचालन गरिएको भए पनि आज साँझ करिब ६ः३० बजे पुनः पहिरो खसेपछि काम अघि बढ्न नसकेको डिभिजन कार्यालयले जनाएको छ।

यात्रुहरू अलपत्र परेपछि जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाद्यान्न सहयोग गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा करिब एक हजार ५०० यात्रुलाई भूजा, चिउरा, बिस्कुट, चाउचाउ र पानी वितरण गरिएको हो।

प्रजिअ अर्यालले यात्रुलाई तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै, थप पहिरो नखसे आइतबार मध्यान्हसम्ममा सडक सञ्चालनमा आउने सम्भावना रहेको बताए।

असोज ४, २०८२ शनिबार २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।