चाडपर्व नजिकिएसँगै भरिन थाले सुदूरका सुनसान गाउँ

कैलाली : बडादसैँ र तिहार नजिकिँदै जाँदा भारतमा काम गर्दै आएका नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन्। विशेषगरी सुदूरपश्चिमका विभिन्न जिल्लाका युवा चाडपर्व मनाउन घर फर्किरहेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल सीमासुरक्षा गुल्म धनगढीका अनुसार कैलालीको त्रिनगर नाकाबाट मात्रै गत एक सातामा ४ हजार ७७३ जना नेपाली स्वदेश फर्किएका छन्। दिनहुँ घर फर्कने संख्यामा वृद्धि भइरहेको गुल्मले जनाएको छ।
डोटीका रमेश साउद भारतको सुरतमा लामो समयदेखि मजदुरी गर्दै आएका थिए। उनी भन्छन्, “चाडपर्वमा परिवारसँग भेटघाट, स्थानीय खानपिन र रमाइलोले परदेशी जीवनको एक्लोपन भुलाउँछ।”
यस्तै, बैङ्लोरमा होटलमा काम गर्ने कैलालीका शिवराज धामी पनि दशैंको टीका थाप्न, खेतीपाती भित्र्याउन र परिवारसँग समय बिताउन घर फर्किएका छन्। दिल्लीबाट फर्किएका बझाङका राजेन्द्र गिरीले पनि “चाडपर्वको स्वाद त गाउँमै हुन्छ” भन्दै घर फर्कनुको खुसी प्रकट गरे।
यस क्षेत्रमा प्रायः युवाहरू भारतका मुम्बई, दिल्ली, पञ्जाब, अहमदाबाद, नासिक, पिथौरागढलगायत सहरमा रोजगारीका लागि जाने गर्छन्। खेतीपाती हुनेहरू प्रायः बाली भित्र्याउनुअघि मात्र भारत जान्छन् भने खेतीपाती नभएकाहरू लामो समय भारतमै बसेर चाडपर्वमा मात्रै फर्कने गर्छन्।
भिसा बिना नै सहजै रोजगारी पाउने भएकाले सुदूरपश्चिमका अधिकांश युवाले भारत रोजगारीको गन्तव्य बनाइरहेका छन्।
असोज ४, २०८२ शनिबार १९:४९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।