मर्मतसम्भार र रङरोगनसँगै पुरानै चमकमा फर्किँदै सिंहदरबार

काठमाडौं : जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीपछि खण्डहरझैँ बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगनको काम भइरहेको छ। एक महिनाअघि सुनसान र कालो धुवाँले ढाकिएको प्रशासनिक केन्द्रमा अहिले पुनःनिर्माणका गतिविधिले चहलपहल बढाएको छ।
आगजनीले जलेर कालो बनेका भित्तामा पानीले पखाली नयाँ रङ लगाइँदैछ। झ्याल–ढोका, टेबुल, कुर्सी, सोफा लगायतका जलेर खरानी भएका सामग्री हटाउन श्रमिकहरू खटिएका छन् भने क्षतिग्रस्त सवारीसाधन व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको छ।
सरकारले सिंहदरबारलाई पुनःनिर्माण गर्ने निर्णयसँगै मर्मतसम्भारलाई प्राथमिकता दिएको हो। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभार ग्रहणका क्रममा “सिंहदरबारका कालो भित्तामा रङरोगन गरी विनाशबाट चाँडै उठ्यौँ भन्ने सन्देश दिन्छौँ,” भन्दै तत्कालै काम अघि बढाउने घोषणा गरेका थिए।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका कर्मचारीहरूले त गत भदौ २८ गते सार्वजनिक बिदाको दिनमै कार्यालय आएर सरसफाइ र मर्मत सुरु गरेका थिए। हाल मन्त्रालयका कर्मचारी रोस्टर बनाएर हाजिरी दिँदै सरसफाइमा जुटिरहेका छन्।
सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार विशेष परिस्थिति भएकाले आवश्यक प्राविधिक तथा कर्मचारी खटाइएको छ। “अर्थ र ऊर्जा मन्त्रालयले आफ्नै पहलमा रङरोगन सुरु गरे पनि बाँकी मन्त्रालयहरूमा हामीले काम अघि बढाइरहेका छौँ। जतिसक्दो छिटो काम सम्पन्न गर्ने लक्ष्य छ,” उनले बताए।
गत भदौ २४ गतेको आन्दोलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला, सामान्य प्रशासन, कृषि, भौतिक पूर्वाधार, शिक्षा, ऊर्जा, सहरी विकास र अर्थ मन्त्रालयमा व्यापक क्षति पुगेको थियो। साथै नेपाली कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका दलिय कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो।
हाल मर्मतसम्भार धमाधम भइरहेको छ। बिदाको दिन पनि श्रमिकहरू बाँसको खट बनाएर डोरीमा झुन्डिएर रङरोगन गर्दैछन्। तर गृह र स्वास्थ्य मन्त्रालयमा ठूलो क्षति भएकाले सामान्य मर्मतले नपुग्ने, पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको छ।
सिंहदरबार परिसरका पार्किङस्थलमा जलेर नष्ट भएका हजारभन्दा बढी सवारीसाधन पन्छ्याउने र व्यवस्थापन गर्ने काम पनि जारी छ।
रक्षा, कानुन, पर्यटन, वन, सञ्चार, परराष्ट्र, श्रम, उद्योग, महिला तथा बालबालिका लगायतका मन्त्रालयमा भने सामान्य क्षति पुगेको छ। नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग भने अराजक समूहको आक्रमणबाट जोगिएका छन्।
असोज ४, २०८२ शनिबार १८:३३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।