शुक्रबार देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक अझै खुलेन, दशैं मान्न घर फर्किरहेका हजारौं यात्रु अलपत्र

काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरोका कारण अवरुद्ध सडक अझै खुल्न सकेको छैन। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएपनि पुनः सुख्खा पहिरो खस्न थालेपछि काम अगाडि बढ्न सकेन।
पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले आजै सवारी सञ्चालन हुने अवस्था नरहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो। शुक्रबार साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ।
असोज ४, २०८२ शनिबार १७:२९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।