यातायात व्यवस्थापन सहज बनाउन नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

यातायात व्यवस्थापन सहज बनाउन नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने
Filephoto

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढी पहिरोले अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

मन्त्रालयमा भएको छलफलमा काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्य सार्वजनिक सवारीसाधनहरू नागढुङ्गा-सिस्नेरी-सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरू प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ।

बैठकले काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त-दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

राजमार्गहरूको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुनेगरी ठूला भारबहन सवारीसाधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ।

उक्त सडकखण्डका लागि खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरू ढुवानी गर्ने सवारीसाधनहरुलाई निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ।

मुलुकभरका मुख्य सडकहरुलाई चुस्त-दुरुस्त राख्न, सुधार गर्न/गराउन, पहिरोजन्य विपद्हरुको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि सञ्चालनमा ल्याउनेगरी आवश्यक कार्य गर्न/गराउन बैठकले सडक विभागलाई निर्देशन दिएको छ।

आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ। मुलुकभरको सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुनेगरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्न/गराउन सडक विभागलाई निर्देशन दिइएको छ।

असोज ४, २०८२ शनिबार १६:०४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।