अर्थमन्त्री खनालद्वारा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकन

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले ‘जेन जी’ आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्कको स्थलगत अवलोकन गरेका छन्।
अवलोकनपछि उनले आन्दोलनबाट अर्बौंको क्षति व्यहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्षतिग्रस्त संरचनाको निरीक्षण गर्दै मन्त्री खनालले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए।
‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई पुनः गति दिनु आजको आवश्यकता हो,’ उनले भने, ‘निजी क्षेत्रको सक्रियता र लगानीविना यो सम्भव छैन। सरकार निजी क्षेत्रलाई आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ।’
सतुंगलस्थित यो पार्क चौधरी ग्रुपको एक महत्त्वपूर्ण औद्योगिक केन्द्र थियो, जहाँ सीजी ब्रान्डका विद्युतीय सामग्रीहरू एसेम्बल गरी बजारमा पठाइन्थ्यो। साथै, एलजीजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरणहरू पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए।
जेन-जी आन्दोलनका क्रममा चौधरी ग्रुपका विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग तथा निजी निवासमा समेत तोडफोड र आगजनी भएको थियो। त्यसमध्ये सीजी डिजिटल पार्कमा सबैभन्दा बढी क्षति पुगेको हो।
चौधरी ग्रुपले भने आगजनीका बाबजुद सीजी र एलजीका विद्युतीय सामग्रीको आपूर्तिमा कुनै अवरोध आउन नदिने जनाएको छ।
असोज ४, २०८२ शनिबार १३:५५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।