पर्साका नौ पालिकाको बैंक खाता दुई महिनादेखि बन्द

पर्साका नौ पालिकाको बैंक खाता दुई महिनादेखि बन्द

वीरगञ्ज : चालु आर्थिक वर्ष सुरू भएको दुई महिना बितिसक्दा पनि पर्साका १४ मध्ये ९ वटा स्थानीय तहले आफ्नो बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्।

आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा ती पालिकाहरूको खाता सञ्चालन हुन नसकेको हो, जसका कारण कर्मचारीको तलबभत्ता वितरण र विकास निर्माणका काम ठप्प भएका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार जिल्लाका ९ वटा पालिकाले अझैसम्म खाता सञ्चालनका लागि प्रक्रिया पूरा गरेका छैनन्।

अधिकांश पालिकाले समयमै नीति, कार्यक्रम र बजेट ल्याउन नसक्नु तथा ल्याएकाहरूले पनि अन्य कानुनी प्रक्रिया पूरा नगर्दा यस्तो अवस्था आएको हो।

‘स्थानीय तहले गाउँ वा नगरसभाबाट पारित भएको नीति, कार्यक्रम र बजेट कार्यालयमा बुझाउनुपर्छ। साथै, पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी प्रदान गर्नुपर्ने र संघीय तथा प्रदेश सरकारबाट प्राप्त स्रोतको सूत्रअनुसार खर्चको अभिलेख राख्नेजस्ता प्रक्रिया पूरा नभएसम्म खाता सञ्चालन गर्न मिल्दैन’, प्रमुख जोशीले भने।

खाता सञ्चालन नहुने पालिकाहरूमा बहुदरमाई नगरपालिका, विन्दवासिनी गाउँपालिका, कालिकामाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, धोविनी गाउँपालिका, ठोरी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिका रहेका छन्।

कार्यालयका अनुसार हालसम्म वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, छिपरमाई गाउँपालिका र पटेर्वासुगौली गाउँपालिका गरी ५ वटा पालिकाको मात्र खाता सञ्चालनमा आएको छ।

असोज ४, २०८२ शनिबार १३:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।