पत्रकारलाई धम्की दिएको भन्दै महासंघद्वारा एमाले नेता बस्नेतको भर्त्सना, कारबाहीको माग

काठमाडौं : नेपाल पत्रकार महासंघले नेकपा एमालेका नेता महेश बस्नेत र उनका सहयोगीहरूले पत्रकार टेकमान शाक्यलाई धम्की दिएको घटनाको भर्त्सना गरेको छ।
नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई प्रकाशित समाचारको विषयलाई लिएर आतंकित र त्रसित पार्ने गरी बारम्बार धम्की आएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महासंघका महासचिव रामप्रसाद दाहालले आज एक विज्ञप्ति जारी गर्दै समाचारप्रति असहमति भए विधिसम्मत रूपमा आफ्ना कुरा राख्ने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याएर प्रेस स्वतन्त्रता हनन गर्ने कार्य निन्दनीय भएको बताएका छन्।
‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउँदछ’, विज्ञप्तिमा भनिएको छ।
महासंघले पत्रकारलाई धम्की दिने कार्यमा संलग्न जोकोहीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
महासंघको प्रतिष्ठान प्रदेश समितिले सम्पादक शाक्यलाई बारम्बार धम्की आइरहेको जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ।
असोज ४, २०८२ शनिबार १३:००:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।