महिला नेपाली क्रिकेट टोलीले मलेसियासँग पाँच टी-२० खेल्ने

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। यो शृंखला आगामी अक्टोबर २ देखि ८ सम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले मलेसिया भ्रमणका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व रुबिना क्षेत्रीले गर्नेछिन्।
यो शृंखलाअघि नेपाली खेलाडीहरूले तयारीका लागि ‘मलेसियन सुपर वुमन सिरिज’मा पनि सहभागिता जनाउनेछन्।
सेप्टेम्बर २४ देखि ३० सम्म हुने उक्त प्रतियोगितामा घोषित टोलीका १४ खेलाडीले विभिन्न पाँच टोलीबाट खेल्दै अनुभव बटुल्ने क्यानले जनाएको छ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। सोही प्रतियोगिताको तयारीलाई मध्यनजर गर्दै यो भ्रमण तय गरिएको हो।
नेपाली टोली:
रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी र कविता कुँवर।
असोज ४, २०८२ शनिबार १२:३८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।