जेन-जी आन्दोलनमा सहभागी हुम्लाका युवक ११ दिनदेखि बेपत्ता

जेन-जी आन्दोलनमा सहभागी हुम्लाका युवक ११ दिनदेखि बेपत्ता

काठमाडौं : गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता भएका छन्।

हुम्लाको नाम्खा गाउँपालिका-३, खगालगाउँ स्थायी घर भई हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका २४ वर्षीय थुक्तेन पाल्वर तामाङ सम्पर्कविहीन भएका हुन्।

परिवारका अनुसार, भदौ २४ गते दिउँसो २ बजे उनी बौद्धमा भएको प्रदर्शनमा सहभागी हुन कोठाबाट निस्केका थिए। उनका बुबा टासी छिरिङका अनुसार, होटेलमा काम गर्ने थुक्तेन बिहानको सिफ्ट सकेर कोठामा आएलगत्तै आन्दोलनमा जान्छु भनी निस्केका थिए, तर त्यसपछि उनी फर्किएनन्।

छोरा ११ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले काठमाडौंका विभिन्न स्थानमा खोजी गरे पनि फेला पार्न सकेको छैन।

‘जेन-जी प्रदर्शनमा गएको छोरो आजसम्म फर्केन, जहाँ भए पनि खोजी गरिदिनुहुन सबैलाई आग्रह गर्दछु,’ बुबा टासीले भने। उनका दुई छोरामध्ये बेपत्ता भएका थुक्तेन कान्छा हुन्।

थुक्तेनको खोजीका लागि हुम्लाबासीको सामाजिक संस्था ‘नाम्ख्योम हुम्ला बौद्ध समाज’ पनि सक्रिय भएको छ। समाजका अध्यक्ष अंगबहादुर लामाले बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी कार्यमा सहयोग गर्न आग्रह गरिएको बताए।

नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकेका थुक्तेन हाल तीनचुलीमा आफ्नो भतिजोसँग कोठा लिएर बस्दै आएका थिए।

असोज ४, २०८२ शनिबार ११:५१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।