ट्रम्प र सीबीच फोन वार्ता, टिकटक मुद्दासहित सैनिक परेड पनि छलफल

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार फोन वार्ता भएको छ।
वार्तामा दुवै नेताले विश्व शान्ति र समृद्धिका लागि चीन-अमेरिका सम्बन्ध महत्त्वपूर्ण रहेको स्वीकार गर्दै सहकार्यमा जोड दिएका छन्।
राष्ट्रपति सीले चीन र अमेरिका मिलेर अघि बढेमा दुवै देश मात्र नभई सम्पूर्ण विश्व नै लाभान्वित हुने बताए।
आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो।
वार्तामा राष्ट्रपति सीले अमेरिका-चीन सम्बन्धको रणनीतिक महत्त्व औंल्याउँदै विभिन्न विषयमा चीनको धारणा स्पष्ट पारे।
उनले दोस्रो विश्वयुद्धमा चीन र अमेरिका सहयात्री रहेको स्मरण गराउँदै इतिहासबाट सिकेर भविष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
एकतर्फी व्यापारिक प्रतिबन्धहरूबाट टाढा रहन अमेरिकी पक्षलाई आग्रह गरे भने टिकटक मुद्दामा चीनको अडान स्पष्ट पार्दै अमेरिकी बजारमा चिनियाँ लगानीकर्ताका लागि निष्पक्ष र भेदभाव रहित वातावरण बनाउन अनुरोध गरे।
वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पनि चीन-अमेरिका सम्बन्धलाई विश्वकै सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा स्वीकार गरे।
ट्रम्पले चीनले हालै आयोजना गरेको युद्ध विजयको ८०औं वार्षिकोत्सवको सैनिक परेडलाई ‘अद्भुत र सुन्दर’ भन्दै प्रशंसा गरे।
उनले आर्थिक तथा व्यापारिक सहकार्यलाई बढावा दिने, टिकटक विवाद समाधानका लागि संवाद जारी राख्ने र विश्व शान्तिका लागि चीनसँग मिलेर काम गर्न अमेरिका तयार रहेको बताए।
दुई नेताबीचको यो वार्ताले पछिल्लो समय तनावपूर्ण रहेको सम्बन्धमा सुधारको सङ्केत दिएको विश्लेषण गरिएको छ।
असोज ४, २०८२ शनिबार ०९:२५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।