नेपालको स्थितिमा सुधार भएको भन्दै भारतले आफ्ना नागरिकका लागि जारी गर्यो एडभाइजरी

काठमाडौं : भारतले नेपालको पछिल्लो अवस्था र यहाँको आवागमनबारे आफ्ना नागरिकहरूका लागि एडभाइजरी जारी गरेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले नेपालको अवस्थामा सुधार आएको भए पनि सतर्कता अपनाउन सुझाव दिएको हो।
दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘पछिल्ला केही हप्तामा तुलनामा नेपालको स्थितिमा सुधार आएको छ। सडक यातायात र हवाई उडानहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।’
सूचनामा थप भनिएको छ, ‘यद्यपि, नेपाल भ्रमणमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनद्वारा जारी गरिएका सूचनाहरूको पालना गर्न सल्लाह दिइन्छ।’
भारतीय दूतावासले आफ्ना नागरिकहरूको सहयोगका लागि हेल्पलाइन नम्बर, आपत्कालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ। आवश्यकता परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।
पछिल्ला दिनहरूमा नेपालमा सुशासन माग्दै भएको ‘जेन-जी’ आन्दोलन सरकारको दमनपछि हिंसात्मक बनेको थियो। व्यापक विरोध प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका थिए।
आन्दोलनपछि नेपालमा अन्तरिम सरकार गठन गरिएको छ, जसको नेतृत्व प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले गरेकी छन् भने आम निर्वाचनको पनि घोषणा गरिएको छ।
असोज ४, २०८२ शनिबार ०८:१७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।