एसिया कपमा ओमानमाथि भारतको जित, तर ओमानको प्रदर्शन सम्झनलायक

एसिया कपमा ओमानमाथि भारतको जित, तर ओमानको प्रदर्शन सम्झनलायक

एजेन्सी : एसिया कप २०२५ को एक लिग खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ। विश्वको नम्बर एक टोली भारतविरुद्ध ओमानले गरेको उत्कृष्ट प्रदर्शनको भने चौतर्फी प्रशंसा भइरहेको छ।

१८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर १६७ रन बनायो। बलियो भारतीय बलिङ आक्रमणसामु ओमानको यो प्रदर्शनलाई निकै सराहनीय मानिएको छ। यो खेलमा भारतले आफ्ना आठ बलरको प्रयोग गरेको थियो।

ओमानको खेलको प्रशंसा गर्दै पूर्व भारतीय क्रिकेटर इरफान पठानले सामाजिक सञ्जाल एक्समा लेखे, ‘प्रिय ओमान क्रिकेट, उत्कृष्ट खेल्यौ।’ क्रिकेट प्रशंसकहरूले पनि सामाजिक सञ्जालमा ओमानको प्रदर्शनको प्रशंसा गरिरहेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो। भारतका लागि विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले।

ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३८ रन जोडे। यी दुईबाहेक अन्य कुनै पनि भारतीय ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन्।

जवाफमा ओमानका लागि आमिर कलिमले ६४ र हम्माद मिर्जाले ५१ रनको अर्धशतकीय पारी खेले। ओमानले आफ्नो पहिलो विकेट ५६ रनमा गुमाएको थियो भने दोस्रो विकेट १४९ रनको स्कोरमा गुमाएको थियो, जसले भारतीय टोलीलाई दबाबमा राखेको थियो।

आईसीसीको पछिल्लो टी-२० वरीयताअनुसार भारत विश्वको नम्बर एक टोली हो भने ओमान २० औं स्थानमा छ। वरीयतामा यति ठूलो अन्तर भए पनि ओमानले देखाएको प्रतिस्पर्धात्मक खेलले क्रिकेट जगतको ध्यान तानेको छ।

असोज ४, २०८२ शनिबार ०७:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।