जेन-जी आन्दोलनको क्षति : २० अर्ब ७० करोडको बीमा दाबी

जेन-जी आन्दोलनको क्षति : २० अर्ब ७० करोडको बीमा दाबी
तस्बिर- दीपेश श्रेष्ठ/उकेरा

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, हालसम्म १८ वटा निर्जीवन बीमा कम्पनीमा कुल १ हजार ९८४ वटा दाबी परेका छन्।

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा बढी दाबी दि ओरियन्टल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा परेको छ।

कुन कम्पनीमा कति दाबी?
दि ओरियन्टल इन्स्योरेन्समा ४० वटा दाबीमार्फत रु. ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २५८ वटा दाबीमार्फत रु. ४ अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरेन्समा ३६६ वटा दाबीमार्फत रु. २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रहेको छ।

यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबीमार्फत रु. १ अर्ब ५९ करोड ६ लाख ८० हजार ८००, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबीमार्फत रु. १ अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबीमार्फत रु. १ अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ र नेको इन्स्योरेन्समा ४० वटा दाबीमार्फत रु. १ अर्ब ९ करोड ५३ लाख ६५ हजार २०७ दाबी परेको छ।

यसैगरी, सानिमा जीआईसीमा ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख र एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ बराबरको दाबी परेको छ। अन्य कम्पनीहरूमा पनि करोडौँका दाबीहरू दर्ता भएका छन्।

दाबी भुक्तानी प्रक्रिया छिटो बनाउन संघको प्रतिबद्धता
नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ। संघले बीमितहरूलाई क्षतिको यथार्थ विवरण र आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा राष्ट्रपति भवन, संसद् भवन, सुरक्षा निकाय, निजी सम्पत्ति तथा अन्य भौतिक संरचनामा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूलाई आवश्यक कागजात चाँडो बुझाएर दाबी प्रक्रिया सहज बनाउन अपिल गरे।

उनले भने, ‘बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर तीव्र गतिमा काम गरिरहेका छन्। २०७२ को भूकम्प र कोभिड महामारीले बीमाको महत्त्वलाई पुष्टि गरिसकेको छ, र यस्तो संकटको समयमा बीमा कम्पनीहरूको सक्रियता आशाजनक छ।’

असोज ४, २०८२ शनिबार ०७:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।