अझै पन्छाइ सकिएन तुइन खोलाको पहिरो, अझै चार घण्टा लाग्ने

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ खसेको ठूलो पहिरो अझै पन्छाउन नसक्दा यात्रुको बिजोग भएको छ।
शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए।
‘रातभर पटक-पटक गरी खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ,’ उनले भने, ‘निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम थालिएको छ।’
दुवैतर्फबाट एक-एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन्। नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए।
पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने उनको भनाइ छ।
शुक्रबार दिउँसो पटक-पटक पहिरो खसेर उक्त ठाउँमा सफा गर्दै सवारी सञ्चालनमा ल्याइएको थियो। साँझ ६ बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन्।
पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ।
असोज ४, २०८२ शनिबार ०७:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।