गाजाबाट बाहिरिने मुख्य अस्थायी मार्ग इजरायलद्वारा बन्द, आक्रमण तीव्र पार्ने चेतावनी

गाजाबाट बाहिरिने मुख्य अस्थायी मार्ग इजरायलद्वारा बन्द, आक्रमण तीव्र पार्ने चेतावनी

काठमाडौं : इजरायली रक्षा बल (आईडीएफ)ले गाजा शहरबाट सर्वसाधारणलाई बाहिर निस्कनका लागि बनाइएको एक मुख्य अस्थायी बाटो बन्द गरेको छ।

सर्वसाधारणलाई उक्त क्षेत्र छाड्न आदेश दिएको केही समयपछि नै आईडीएफले उक्त मार्ग बन्द गरी अर्को एउटा मात्र बाटो खुला राखेको हो।

आईडीएफका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल एक्समा सला अल-दीन मार्ग अब गाजा सहरबाट बाहिर निस्कनका लागि उपलब्ध नभएको जानकारी दिएका छन्।

उनका अनुसार, अब सर्वसाधारणले अल-रशिद मार्ग मात्र प्रयोग गर्न पाउनेछन्, जुन निस्कनका लागि अनुमति दिइएको एक मात्र बाटो हो।

पछिल्ला केही हप्तादेखि इजरायलले गाजामा स्थलगत आक्रमण तीव्र पारेको छ।

सला अल-दीन गाजाको उत्तरदेखि दक्षिणसम्म जोड्ने मुख्य सडक हो। यो सडक हालै पुनः सैन्य क्षेत्र घोषणा गरिएको नेत्जारिम कोरिडोर हुँदै जान्छ।

आईडीएफले सन् २०२४ मा बनाएको यो कोरिडोरले गाजालाई दुई भागमा विभाजन गरेको थियो।

इजरायलले यसै वर्षको सुरुमा युद्धविराम सम्झौताअन्तर्गत यो कोरिडोर खाली गरेको थियो, तर स्याटलाइट तस्बिरहरूले सोमबारदेखि इजरायली सेनाका गाडीहरू उक्त क्षेत्रमा पुनः प्रवेश गरेको देखाएका छन्।

प्रवक्ता अद्राईले आफ्नो पोस्टमा आईडीएफले "हमास र अन्य आतंकवादी समूहहरूविरुद्ध पहिलेभन्दा अझै कडा कारबाही" जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

असोज ३, २०८२ शुक्रबार २२:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।