नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध : खुलाउन बिहान ४ बजेसम्म कुर्नुपर्ने, यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध : खुलाउन बिहान ४ बजेसम्म कुर्नुपर्ने, यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह
फाइल तस्बिर

काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझदेखि पहिरोका कारण अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिकास्थित तुइन खोला नजिकै साँझ ७:१५ बजे खसेको पहिरो हटाउन नसकिँदा सडक खुल्न कम्तीमा शनिबार बिहानसम्म लाग्ने भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, पहिरो खस्ने क्रम नरोकिएको र रातको समयमा काम गर्न अत्यन्तै जोखिमपूर्ण भएकाले तत्काल हटाउन सम्भव नभएको हो।

सुरक्षा जोखिमका कारण पहिरो पन्छाउने काम शनिबार बिहान ४ बजेबाट मात्र सुरु गरिने कार्यालयले जनाएको छ।

कार्यालयले एक सूचना जारी गर्दै भनेको छ, ‘रातको समयमा माथिबाट खस्ने ढुंगा नदेखिने र थप दुर्घटना निम्तिन सक्ने भएकाले शनिबार बिहान ४ बजेसम्मका लागि सवारी आवागमन बन्द गरिएको छ।’

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। कार्यालयले उनीहरूलाई रातभर सावधानीपूर्वक सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

असोज ३, २०८२ शुक्रबार २१:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।